चितवनः नेपालमा क्यान्सर उपचारको क्षेत्रमा अग्रणी मानिएको विपि कोईरला मेमोरियल क्यान्सर अस्पतालमा तीन महिना देखि कार्यकारी निर्देशक पद रिक्त हुँदा अस्पताल अस्तव्यस्त वन्दै गएको छ । बिरामीले पाउने नियमित सेवा र सुबिधा घट्दै गएको छ । आर्थिक वर्षको मसान्तमा भूक्तानी र खरिदका काम रोकीएका छन् । तीन महिना देखि कर्मचारीले तलब पाउन सकेका छैनन् ।

एशियाकै नमूना अस्पतालको रुपमा विकास गर्ने लक्ष्य लिईएको यस अस्पतालमा दैनिक काम प्रभावित भएका छन् । अस्पतालमा बिरामीलाई अत्यावश्यक अक्सिजनदेखि अन्य औषधिजन्य सामाग्री खरिद प्रभावित बनेको छ । डा.देजकुमार गौतमको कार्यकाल गत चैत २५ गते समाप्त भएपछि कार्यकारी निर्देशकको पद रिक्त भएको हो । चैत ३० गते अध्यक्ष पदमा डा. विजय न्यौपाने नियुक्त भए पनि सञ्चालक समिति नहुँदा हाल सम्म वैठक बस्न सकेको छैन । सञ्चालक समिति सदस्य नियुक्ति गरेर काम फुकाई दिन काठमाडौंमा हारगुहार गरिरहनु भएका डा. न्यौपाने अब अस्पताल तहशनहस् वन्ने अबस्थामा पुगेको गुनासो गर्नुहुन्छ । सञ्चालक समिति गठनका लागि उहाँले प्रधानमन्त्री, संघिय स्वास्थ्य मन्त्री, बागमती प्रदेशका स्वास्थ्य मन्त्री र पार्टीका नेताहरुलाई हारगुहार गर्दा समेत सुनुवाई नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “लौन अब वर्वाद भयो । मन्त्रीलाई पाँच चोटी भने । प्रदेशका मन्त्रीलाई तीन चोटी भने काङ्ग्रेस र माओवादीलाई भने कसैले मेरोकुरा सुनेन ।” अस्पताल राम्रो तर्फ जाँदै गरेको अबस्थामा कार्यकारी निर्देशक पाउन नसक्दा समस्या भएको उहाँले बताउनुभयो ।

सञ्चालक समितिले पूर्णता पाए संगै सोही समितिले कार्यकारी निर्देशकको नियुक्ति गर्छ । सञ्चालक समिति मन्त्री परिषदको निर्णयबाट नियुक्त हुने व्यवस्था छ । अस्पतालका सूचना अधिकारी गृहनारायण महतोका अनुसार अक्सिजन ग्यास समेत खरिद गर्न कठिन भईसकेको छ । कतिपय औषधि अभाव हुन थालेको छ । यसको प्रभाव दीर्घकालिन रुपमा हुने भन्दै उहाँले कार्यकारी निर्देशक नहुँदा दैनिक कामकाज प्रभावित भएको बताउनुभयो ।
यस वर्ष खरिद गरिएका सामग्रीहरुको भुक्तानी असार महिनामा सक्नुपर्ने हुन्छ । त्यसका लागि आवश्यक पर्ने गृहकार्य समेतका लागि अब समय छैन ।
अस्पताल कार्यसञ्चालन तथा व्यवस्थापन नियमावली, २०६६ अनुसार कार्यकारी निर्देशकको काम अध्यक्षको निर्देशनमा अस्पतालको दैनिक प्रशासन सञ्चालन गर्ने रहेको छ । अस्पतालको १४ सदस्यीय रहने सञ्चालक समितिमा ६ जना स्वास्थ्य मन्त्रीको सिफारिसमा मन्त्रीपरिषद्ले नियुक्ति गर्ने व्यवस्था रहेको छ । उक्त ६ जनाको पद अहिले रिक्त रहेको छ । भरतपुर महानगरपालिकाको प्रमुख, स्वास्थ्य मन्त्रालयको सचिव वा सचिवले तोकेको व्यक्ति, अर्थ सचिव वा अर्थसचिवले तोकेको व्यक्ति, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को प्रतिनिधि पदेन सदस्य रहने ऐनमा व्यवस्था छ । यस्तै समितिले दुई जना नियुक्त गर्ने व्यवस्था रहेको छ । सरकारले नियुक्त गर्ने ६ जना र समितिले नियुक्त गर्ने २ जना सदस्य पद रिक्त रहेको छ । ६ जना मध्ये दुई जना सामाजिक क्षेत्रका व्यक्ति हुन्छन् भने चार जना क्यान्सर विशेषज्ञ हुनुपर्दछ ।
सञ्चालक समितिले सिफारिस समिति गठन गरी उक्त समितिले सिफारिस गरेका व्यक्ति मध्येबाट स्वास्थ्य मन्त्रीले कार्यकारी निर्देशक नियुक्त हुने व्यवस्था छ । समितिले नै पूर्णता पाउन नसकेपछि कार्यकारी निर्देशक पद समेत रिक्त रहेको हो । अस्पतालको महत्वपूर्ण जिम्मेवारी रहने कार्यकारी पद रिक्त हुँदा त्यसको असर कर्मचारी र बिरामीसम्म परेको छ । देशैभरी र भारतबाट समेत बिरामीहरु यहाँ उपचारका लागि आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस !