हेटौंडा : बागमती स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असहाय तथा विपन्न नागरिकका लागि अस्पतालहरुलाई १० प्रतिशत नि:शुल्क शय्या उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज (शुक्रबार) एक सूचना जारी गर्दै प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका अस्पतालहरुलाई यस्तो निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्र अनुसार प्रचलित मापदण्ड बमोजिम अस्पतालहरुमा उपचारका लागि आउने विपन्न, असहाय तथा वेवारिसे बिरामीहरुका लागि कुल शैयाको १० प्रतिशत शैया छुटाई नि:शुल्क उपचार अनिवार्य रुपमा गराउन सूचनामा भनिएको छ । यस्तै उपलब्ध सेवाहरुको विवरण तथा लाग्ने शुल्क समेत खुलाएको वडापत्र देखिने गरि संस्थाको अग्रभागमा राख्न मन्त्रालयले आग्रह गरेको छ ।

जनस्वास्थ्य सेवा नियमावली दफा १२ को उपदफा (२) बमोजिम मन्त्रालय वा मातहतका निकायबाट सञ्चालन अनुमति लिएका एवं नविकरण गरिएका स्वास्थ्य संस्थाबाट प्रचलित कानुन र मापदण्डका भएका उपचार तथा सम्पूर्ण सेवाहरु अनिवार्य कार्यान्वयन गर्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सबै गरिब तथा विपन्न नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उहाँले हुँदा खाने वर्गलाई स्वास्थ्य सेवाको पहुँचबाट बन्चित हुनुपर्ने अवस्था आउन नदिने प्रतिवद्धता समेत जनाउनुभयो ।

यसैबीच मन्त्रालयले प्रदेशभित्रका सर्पदंश उपचार केन्द्रहरुमा एन्टि स्नेक भेनमको आवश्यक मौज्दात व्यवस्थापनका लागि स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन दिएको छ । यस्तै मन्त्रालयले एन्टि स्नेक भेनम अभाव नहुने गरि व्यवस्थापन गर्न सर्पदंश उपचार केन्द्रहरुलाई पत्रचार गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस !