चितवनः सरकारले सञ्चालन गरेको खोज र खोप अभियान अन्तर्गत नियमित खोप छुटेका ४३२ बालबालिकालाई खोप लगाईएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले बैशाखको १५ र ३१ गते सो अभियान सञ्चालन गरेको थियो ।
बैशाख महिनालाई खोप महिनाको रुपमा मनाउने क्रममा नियमित खोप छुटेका ती बालबालिकालाई खोप लगाईएको हो । सात पालिकाका सबै वडामा स्वास्थ्यकर्मी एबं स्वास्थ्य स्वयमसेविकाहरुले नियमित खोप छुटेका बालबालिकाहरुको खोजी गरेर खोप लगाएका हुन ।
बच्चा जन्मिए संगै दिईनु पर्ने दादुरा, रुवेला, विसिजी, टाईफाईट लगाएतका १३ वटा खोप मध्ये कुनै एक छुटेको भए समेत लगाउने व्यवस्था गर्नका लागि सञ्चालन गरिएको यो अभियानमा खोप लगाउन छुटेका सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका बालबालिका रहेका छन् । महानगरपालिकाका ३०६ जना बालबालिका यस अभियानमा सहभागी भएको स्वास्थ्य कार्यालय चितवनको जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार राप्ती नगरपालिकाका ८३ जना, इच्छाकामना गाउँपालिकाका १७ जना, खैरहनी नगरपालिकाका १४ जना, रत्ननगर नगरपालिकाका १० जना, माडीका २ जना बालबालिका अभियानका क्रममा खोप कार्यक्रममा सहभागी भएका हुन ।
सरकारले ९५ प्रतिशत भन्दा वढि बालबालिका खोपको पहुँचमा पु¥याउनका लागि अभियान सञ्चालन गरेको कार्यालयका सूचना अधिकारी राम केसीले बताउनुभयो । उहाँका अनुसार सरकारले खोज र खोप अभियान सञ्चालन गर्नु अघिनै स्वास्थ्य कार्यालय चितवनले माघ महिना बाटनै खोप लगाउन छुटेका बालबालिका खोज्न थलेको थियो ।
जिल्लामा यस वर्ष ५० हजार ९३१ जना वालवालिका ५ वर्ष मुनीका रहेका छन् ।





