चितवनः बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पतालका कर्मचारीहरुलाई बिरामीको सम्बेदनशिलता बुझेर काम गर्न निर्देशन दिनुभएको छ । भरतपुर अस्पतालले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अस्पतालमा आउने बिरामी र उनका आफन्तहरुको सम्बेदनशिलताको ख्याल गर्दै सेवा प्रदान गर्न आग्रह गर्नुभएको हो ।
अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी एबं चिकित्सकले बिरामीको सम्बेदनशिलता बुझ्न नसक्दा समय समयमा घटनाहरु हुने गरेको बताउँदै उहाँले भन्नुभयो “अस्पताल सम्बेदनशिल क्षेत्र हो । त्यसको मर्म बुझेर सेवा प्रदान गर्नुस् ।” संघिय अस्पतालको रुपमा बिकास भएको भरतपुर अस्पतालमा आउने बिरामीको व्यवस्थापन मुख्य समस्याको रुपमा रहेको बताउँदै उहाँले सेवालाई छिटो छरितो प्रदान गर्ने तर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “साना कुराहरुबाट सुधार गर्दै जाउँ अस्पताल आफैमा सुध्रिन्छ ।” प्रदेश सरकारले मस्तिस्क घात भएका बिरामीहरुका लागि काठमाडौंमा त्रिबि शिक्षण अस्पतालसंग समन्वय गरेर काम गर्न लागेको उहाँले जानकारी दिनुभयो । चितवनको भरतपुर अस्पताल र अर्को प्रदेश अस्पतालसंग समन्वय गरेर मस्तिस्क घात भएका बिरामीहरुको उपचारका गर्ने गरि शिक्षण अस्पतालालई रिफरल अस्पतालको रुपमा प्रयोग गर्ने योजनामा सरकार रहेको उहाँले बताउनुभयो ।
भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा बिकास गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने उहाँको भनाई छ । कार्यक्रममा अस्पतालको प्रमुख मेडीकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्ण पौडेलले अस्पतालको बिषयमा जानकारी गराउनुभएको थियो । उहाँले यस अस्पताललाई बिशिष्टिकृत अस्पताल वनाउन लागिएको जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रमा प्रदेश सरकार र स्थानीय तहले समेत सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । सो अबसरमा अस्पताल बिकास समितिका सदस्य प्रेम तिमिल्सीना, सरकारी चिकित्सक संघका अध्यक्ष प्रा.डा. मणी प्रसाद गौतम, फ्रेण्ड्स अफ भरतपुर अस्पतालका संयोजक बसन्त पराजुली, भरतपुर अस्पताल बिकास समिति कर्मचारी युनियनका सचिब शिव बस्याल, निमित्त नर्सिङ् बिभाग प्रमुख हिरा देवी सुवेदी लगाएतले अस्पताल र यहाँका कर्मचारीहरुको समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !