चितवन, ८ जेठ । भरतपुर अस्पतालमा उपचार गराउन आउने बिरामीका गुनासै गुनासो रहेका छन् । अस्पताल रहेका भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष परमेश्वर खनाल अस्पताल पुगेर बिरामीको गुनासो सुन्नु भएको हो ।

वडा अध्यक्ष खनाल समक्ष बिरामीले एउटा रोगको उपचार गर्न तीन चार दिनसम्म धाउनु पर्ने, समयमा चिकित्सक नभेटिने, भेटिएर ओपिडि चेक गरेपछि रिपोर्ट देखाउन अर्काे दिन आउनु पर्ने, लामो पालो पर्खेर पालो आउने समयमा चिकित्सक हिड्ने जस्ता समस्या रहेको गुनासो गरे । उनीहरुले ओपिडिमा पालो पाईएन भनेपछि महंगो शुल्कको टिकट लिन लगाउने, ओपिडि, एक्सरे, ल्याब, काउन्टर जता गएपनि लामो लाईन बस्नुपर्ने अवस्था रहेको भनाई थियो ।

भरतपुर अस्पतालमा बिरामीहरुले सहज तरिकासँग उपचार पाउन मुस्किल हुने गरेको छ । अस्पतालमा समयमा डाक्टरहरु नभेटिएर तथा रिपोर्टको लागि २/३ दिनसम्म पनि पालो नआउँदा सेवाग्रहीहरुलाई सहज तरिकाले उपचार पाउन मुस्किल भएको हो ।

भरतपुर महानगरको सामाजिक समितिमा समेत रहनु भएका वडा अध्यक्ष खनालले आफूले समस्या समाधानका लागि सक्दो प्रयास गर्ने बताउनुभयो । उहाँले कतिपय समस्या व्यवस्थापकीय कमजोरीका कारण देखिएको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले टिकट काउन्टर थप गर्नुपर्ने टोकन प्रणाली लागू गर्नेपर्ने, चिकित्सकहरुले तोकिएको पूरा समय अस्पतालमा दिनुपर्ने बताउनुभयो ।

महानगरको सामाजिक समितिबाट भरतपुर अस्पतालमा बिरामीलाई सहयोग गर्न चार जना कर्मचारी दिएको भन्दै उहाँले ती कर्मचारीलाई प्रशासनमा राखेर काम लगाईएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अस्पतालको भिड व्यवस्थापन गर्ने भनेर भरतपुर महानगरले दुई जना अस्पतालको सोधपुछ कक्षमा, जेष्ठ नागरिकको सहयोगका लागि भनेर र दुई जना टिकट काउन्टरमा सहयोग गर्ने भनेर पठाएका थियौं, तर अस्पतालको प्रशासनमा काममा लगाईएको छ ।”

अस्पतालमा भिड व्यवस्थापनदेखि सरसफाईसम्म बेथिति बेथिति रहेको भन्दै वडा अध्यक्ष खनालले प्रश्न गर्नुभयो “अध्यक्ष बस्ने कोठा मात्रै सफा गरेर त भएन नि ?” अध्यक्ष र मेडिकल सुपरिटेण्डेण्टलाई सँगै राखेर १५ दिनभित्र सुधार नभए दुवैलाई हटाउन आफू मन्त्रीको डेलिगेसन जाने चेतावनी दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सुधार भएन भने अध्यक्ष र मेसु हटाउन मन्त्रीकोमा जान्छु र फाल्छु पनि भनेको छु ।”

प्रतिक्रिया दिनुहोस !