
चितवनः यहाँको सरकारी भरतपुर अस्पतालले विगत पाँच वर्षमा रु.१ अर्ब १९ करोडभन्दा बढीको स्वास्थ्य बीमा मार्फत् उपचार सेवा दिएको छ । जसबाट सात लाख १ हजार १४१ पटक सेवाग्राहीले सेवा लिएका छन् ।
अस्पतालमा बि.स. २०७४ साल भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो । गएको चैत मसान्तसम्म अस्पतालमा रु.१ अर्ब १९ करोड ३७ लाख २६ हजार ३५८ निकासा भईसकेको छ । चैतसम्ममा भुक्तानी आउन बाँकी रु.५ करोड हाराहारी छ ।
अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम प्रमुख लिलाधर पौडेलका अनुसार यस आर्थिक वर्षको चैतसम्ममा रु.३९ करोड १० लाख ७४ हजार ४७१ निकासा भईसकेको छ । गत आर्थिक वर्षमा रु.३० करोड ७९ लाख ७४ हजार ५१२ निकासा भएको थियो ।
आर्थिक वर्ष २०७७÷०७८ मा रु.९ करोड ७२ लाख ५२ हजार १८१ निकासा भएको थियो । आर्थिक वर्ष २०७६÷०७७ मा यो रकम रु.२३ करोड ८८ लाख ४ हजाार ७५० थियो । आ.व. ०७५÷०७६ मा रु.१४ करोड ५७ लाख २८ हजार २२२ थियो भने पहिलो वर्ष २०७४÷०७५ मा रु.१ करोड २८ लाख ९२ हजार २२० थियो ।
पौडेलका अनुसार अस्पतालमा दैनिक रु. ७ लाखदेखि ११ लाखसम्मको दावी हुने गर्दछ । बीमाका बिरामी दैनिक सरदर ६ सय जना आउने गर्दछन् । एकै दिन १ हजार ४०० सम्म बीमाका बिरामी आएको तथ्यांक रहेको उहाँको भनाई छ । आकस्मिक सेवामा सरदर ६५ जना दैनिक छन् भने यो संख्या एक सयसम्म पुग्ने गरेको छ । दैनिक भर्ना दर २० जना रहेको उहाँले जानकारी दिनुभयो । यो संख्या बढीमा ५० जनासम्म हुने गरेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म बीमा मार्फत् ७० हजार ४१९ जनाले १ लाख ७६ हजार ६०७ पटक सेवा लिएका छन् । अस्पतालबाट रिफर भएर जानेको संख्या चालु आर्थिक वर्षमा ७ हजार ३०४ हुँदा रिफर भएर आउनेको संख्या ४ हजार ४०३ रहेको छ । अस्पतालमा आउने बिरामी मध्ये ७१ प्रतिशत बीमाका छन् भने २९ प्रतिशत मात्रै नगदमा उपचार गराउने रहेको पौडेलले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा रु.३९ करोड १० लाख ७४ हजार ४७१ बीमाबाट आम्दानी हुँदा नगदबाट रु.१७ करोड ९८ लाख मात्रै भएको छ । आउने अधिकांश बिरामी बीमाका रहेका छन् । एकै दिन ४४ जनासम्मले बीमा मार्फत् सिटीस्क्यान सेवा लिएको पौडेलको भनाई छ । चितवन जिल्लासँगै तनहुँ, गोरखा, लम्जुङ, नवलपरासी, मकवानपुर, धादिङ लगायतका जिल्लाका विभिन्न पालिकाले प्रथम विन्दु भरतपुर अस्पताल बनाएका छन् भने यहाँ अध्ययन र रोजगारीका सिलसिलामा रहने धेरैको प्रथम विन्दु यही अस्पताल हुने गरेको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले अस्पतालको बीमा कार्यक्रम उत्कृष्ट रहेको भन्दै दावी राम्रो भएकाले भुक्तानी सबै आएको बताउनुभयो । दावी प्रक्रिया नमिलेमा अस्पतालको आम्दानी घट्ने भन्दै उहाँले देशका अन्य अस्पतालको तुलनामा भरतपुर अस्पतालले राम्रो गर्न सकेको बताउनुभयो । बिरामीको सहजताका लागि काउन्टर थप गर्ने तयारीमा अस्पताल रहेको उहाँको भनाई छ ।
सकेसम्म बिरामीलाई सहजता दिलाउन आफूहरु लागिपरेको पौडेल बताउनुहुन्छ । बीमा बोर्डले समेत भरतपुर अस्पतालको बीमा दावी पद्धतिलाई राम्रो मानेको भन्दै उहाँले क्रमशः अस्पतालको मुख्य स्रोत बीमा बन्दै गएको बताउनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले अस्पतालको बीमा कार्यक्रम देशमै उत्कृष्ट भएको बताउनुभयो । अस्पतालमा झण्डै ७० प्रतिशत बिरामी बीमाको हुनु आफैमा राम्रो भएको भन्दै उहाँले दावी प्रक्रिया बोर्डको नियमानुसार भएकाले भुक्तानीमा समस्या नभएको बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रो बीमा दावी र व्यवस्थापन देशमै उत्कृष्ट बनेको छ ।”
अस्पतालले पालिकाहरुसँग सहकार्य गरेर आम नागरिकलाई बीमामा ल्याउने गरी अभियान सञ्चालन गर्न लागेको उहाँको भनाई छ । पालिकाहरुमा रहेका अति विपन्नलाई सरकारी तवरबाट बीमा गराउन सकेमा उपचार बीमा मार्फत् गरेर लाभ दिलाउन सकिने पौडेलको भनाई छ ।
अस्पतालमा सेवाहरु विस्तार गरी अन्यत्र रिफर गर्नुपर्ने संख्या घटाउने गरी योजना अघि सारिएको उहाँले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो “बीमामा आउने बिरामीका लागि कसरी सहज उपचार दिन सकिन्छ भनेर हामी केन्द्रीत छौं ।” अस्पतालमा एमआरआई, क्याथल्याब जस्ता अत्याधुनिक सेवा उपलब्ध नहुँदा बिरामी धेरै रिफर हुने गरेका छन् । भरतपुर अस्पतालले ती दुवै सेवा छिट्टै सञ्चालन हुने गरी प्रक्रिया अघि बढाएको पौडेलले जानकारी दिनुभयो ।
स्वास्थ्य बीमामा पाँच जना परिवारले रु.३ हजार ५०० तिरेर एक वर्षभर रु.१ लाखसम्मको सेवा लिंदै आएको छन् । विपन्न परिवारका लागि यो रकम कम भएकाले दायरा बढाउनु पर्ने देखिएको छ । अस्पतालहरुले बीमाका बिरामीलाई अन्य बिरामीको तुलनामा फरक ढंगले सेवा दिने गरेको गुनासो बिरामीहरुबाट आउने गरेको छ । ती गुनासोहरुलाई सम्बोधन गर्नुपर्ने लाभग्राहीहरु बताउँछन् । सेवाग्राहीहरुले जुन ढंगले सहज उपचार पाउनु पर्ने हो, पाउन नसकेको गुनासो गर्दै आएका छन् । सेवा प्रदायक संस्थादेखि बीमा बोर्डसम्मले सुधार गरेर गुनासो नआउने गरी काम गर्नुपर्ने देखिएको छ ।