
चितवनः भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षको तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो ।
कारागारमा हाल ४९ जना महिला चार जना नाबालक÷नाबालिका सहित ७५८ जना कैदीबन्दी छन् । तिनीहरु मध्ये दुई सय हाराहारी दीर्घरोगी छन् । कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार उनीहरु उच्च रक्तचाप, मधुमेह, थाईराईड, क्यान्सर, मिर्गौला जस्ता दीर्घरोग भएकाहरु छन् । उनीहरुलाई नियमित औषधि खुवाउनु पर्ने हुन्छ ।
यसका अतिरिक्त समय समयमा कैदीबन्दी बिरामी पर्दा औषधि किन्नु पर्ने हुन्छ । उहाँका अनुसार कारागार विभागले चालु आर्थिक वर्षका लागि रु.१२ लाख मात्रै बजेट पठाएको छ । अघिल्लो वर्ष रु.२५ लाख पठाएको थियो । त्यसभन्दा अघिल्लो वर्ष रु.४८ लाख पठाएको भन्दै उहाँले कैदीबन्दीलाई औषधि खुवाउन नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।
औषधिको चरम अभाव भएपछि रु.१५ लाख माग गरेकोमा रु.१ लाख मात्रै प्राप्त भएको आचार्यले जानकारी दिनुभयो । कारागारले जिल्ला स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखामा अनुरोध गरेर केही औषधि जुटाएको छ ।
दैनिक औषधिको व्यवस्थापनमा जटिलता हुँदै आएको छ । प्रमुख आचार्यले भन्नुभयो “किन्न बजेट अभाव भएपछि सरकारी र गैरसरकारी क्षेत्रबाट सहयोगका लागि अनुरोध गरिरहेका छौं ।” नियमित औषधि समेत अभाव भएको भन्दै शल्यक्रिया गर्नुपर्ने, भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएमा झन् ठूलो समस्या हुने उहाँले बताउनुभयो ।
कारागारमा रहेका आर्थिक अवस्था राम्रो भएकाहरुले आफैले औषधि किनेर खान थालेका छन् । विपन्नहरुलाई औषधि खान समस्या परेको छ । आचार्यले भन्नुभयो “सत्तरी प्रतिशत बिरामीको औषधि किनेर खाने क्षमता छैन ।”