चितवनः जिल्लाको इच्छाकामना गाउँपालिकामा दादुरा रोग बिरुद्धको खोप दिन लागिएको छ । गाउँपालिकामा दादुराका बिरामी भेटिए संगै खोप लगाउने तयारी थालिएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा दादुरा देखिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका क्षय कुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार इच्छाकामना गाउँपालिकामा ५ वष र १२ वर्षका बालबालिकामा यो रोगको सङ्गक्रमण देखिएको हो । संङ्क्रमण देखिएसंगै जेठको पहिलो साता खोप लगाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । पूर्ण खोप नलगाएका बालबालिकामा यो रोगको देखिएको उहाँले बताउनुभयो । उनीहरु जाने बिद्यालय, सम्पर्कमा आउने वा घुलमिल हुने समुदायमा दादुरा बिरुद्धको खोप लगाउन लागिएको हो ।

इच्छाकामनामा दादुरा रोगको सङ्क्रमण देखिए संगै कालिका नगरपालिकाको पहाडी क्षेत्रमा समेत जोखिम हुन सक्ने भन्दै उच्च सतर्कताका लागि अध्ययन सुरु गरिएको कार्यालयले जनाएको छ । पिछडिएको र सिमान्तकृत बस्तिमा यो रोग देखिने गरेको छ ।

दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । यो रोग सामन्यतया ५ वर्ष मुनिका वालवालिकाहरुलाई धेरै लाग्ने गरेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । मिजल्ड भाईरसका कारण सर्ने यो रोगले छिट्टै महामारीको रुप पनि लिन सक्ने उहाँले बताउनुभयो । दादुरा रोग लाग्दा निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले विरामीको मृत्यु समेत हुन सक्ने कार्यालयले जनाएको छ । यो भाइरस मानिसबाट मानिसमा मात्र सर्दछ । यो भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटिमा रहेर वृद्दी हुने र श्वास नलि एवं अरु भित्रि अंगहरूमा संक्रमण गर्दछ। दादुरा रोग संक्रमण भएका व्यक्तिले खोक्दा, हाछिउ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।

ज्वरो आउनु र शरीरमा राता विमीरा देखा पर्नु दादुरा रोगका प्रमुख लक्षण हुन् । यसको साथै रुघाखोकी, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने जस्ता लक्ष्यण पनि देखिन सक्ने उहाँले बताउनुभयो । रोगीको सम्पर्कमा आएको १०÷१२ दिन पछि मात्र दादुराको लक्षण देखा पर्ने गर्दछ । संक्रमित व्यक्तिलाई ४ दिन अगाडी देखि र डाबर देखा परेको ४ दिन पछि सम्म अर्को व्यक्तिमा सर्न सक्दछ ।

प्रतिक्रिया दिनुहोस !