चितवन: नेपाल नेत्रज्योती संघ चितवनले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा नेपाल पत्रकार महासंघ चितवनका सदस्यहरुलाई नेत्रज्योती संघका आजीवन सदस्यलाई सरह सेवा सुबिधा दिने भएको छ । नेपाल पत्रकार महासंघ र नेपाल नेत्रज्योती संघको स्थापना दिवसका अबसरमा आज पत्रकारहरुको आँखा जाँचका क्रममा यस्तो घोषणा गरीएको हो ।
कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योती संघका केन्द्रिय सदस्य चिज कुमार मास्केले नेत्र ज्योती संघका आजीवन सदस्यले पाउँदै आएको ४० प्रतिशत छुट पत्रकारहरुलाई पनि दिईने बताउनुभएको हो । पत्रकारहरुको आँखा नियसमत जाँच गर्न आबश्यक रहेकाले यो सेवा दिन लागिएको उहाँले बताउनुभयो । पत्रकारीता क्षेत्रलाई राज्यको चौथो अंगको रुपमा हेरीने भएकाले यस पेसामा लागेकाहरुका लागि छुटको सेवा दिन लागीएको उहाँले बताउनुभयो ।
नेपाल नेत्रज्योती संघका चितवनका अध्यक्ष कृष्ण प्रसाद धरेलले पत्रकारहरुले अस्पतालमा छुटको सेवा लिन आउँदा आफ्नो परिचय पत्र लिएर आउनु पर्ने बताउनुभयो । पाँच जनाबाट सुरु भएको आँखा अस्पताल अहिले १५० भन्दा बढि कर्मचारीले सेवा गर्दै आएका छन् । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारीले अस्पताल संगको सहकार्यलाई अझै प्रगाढ वनाउँदै लैजाने बताउनुभयो । पत्रकारहरुको आँखामा देखिने समस्या समाधानका लागि अस्पताल संग सहकार्य गरेर काम गर्दै आईएको भए पनि यस्ता कार्यक्रमहरुले अझै प्रभावकारी वनाउने उहाँको भनाई थियो ।
आँखा परिक्षण कार्यक्रममा १२५ जना पत्रकारले निःशुल्क आँखा परीक्षण गराएको कार्यक्रमका संयोजक बिप्लब काफ्लेले बताउनुभयो । उहाँका अनुसार आजको परिक्षणका क्रममा समस्या देखिएमा थप उपचार बुधबार गरीने छ । आँखा शिविर कार्यक्रमका संयोजक पत्रकार काफ्लेले २ जना जेष्ठ पत्रकारहरुको मोतियाविन्दुको शल्यक्रिया गर्नपर्ने पाइएको जानकारी दिनुभयाे । २०१२ चैत १६ गते स्थापना भएको नेपाल पत्रकार संघ पछि २०५३ जेठ २९ मा महासंघमा रुपान्तरण भएको थियो । महासंघले चैत १६ गते ६८ औँ स्थापना दिवस मनाउँदै छ । १३ गते नेत्रज्योति दिवस र १८ गते नेत्र ज्योति संघको स्थापना दिवस मनाइदै छ । भरतपुर आँखा अस्पताल २०४४ साल चैत १८ गते स्थापना भएको थियो । अस्पतालमा बहिरंग सेवा, नयाँ बिरामी भर्ना सेवा, कर्नियाया सेवा, सामान्य बहिरंग सेवा, जलविन्दु सेवा, दृष्टि पर्दा सेवा, आँखाको प्लाष्टिक सर्जरी सेवा, बाल आँखा रोग सेवा, जाँच तथा अन्य सेवाहरु, चस्मा जाँच सेवा लगायतका सेवाहरु दिदै आइरहेको छ । अस्पतालमा दैनिक ८ सय जनाले आँखा उपचार सेवा लिदै आएका छन् ।





