चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको पुल निर्माणको क्रममा तुईन खोलामा भित्तो काट्न कठिन भएपछि बिस्फोटको लागि तयारी अघि बढाईएको छ । अन्य पुलका लागि भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । तुईन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो कडा चट्टानको डाँडो छ । सो डाँडोलाई काट्न कठिन भएपछि बिस्फोट गराएर छिटो काम सक्ने तयारी गरिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी ई.कृष्ण आचार्यका अनुसार तुईन खोलाको देब्रे तर्फको डाँडो काट्ने काम अबको एक सातामा सक्ने गरी काम भईरहेको छ । दायाँतर्फको भने ४० प्रतिशत मात्रै काम भएको छ । उहाँको भनाईमा दायाँ तर्फको डाँडो ६० मिटर अग्लो कडा चट्टानको थियो । काटेर २५ मिटर तल झारिएको छ । बाँकीलाई यसैगरी काट्दा लामो समय लिने भएकोले बिस्फोट गराउन अनुमति माग गरिएको छ ।
आयोजनाका प्रमुख किरण कार्कीका अनुसार विभाग हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट गृह मन्त्रालय फाईल पुगेको छ । त्यहाँबाट स्वीकृत भएपछि बिस्फोटक पदार्थ खरिदका लागि प्रक्रिया अघि बढ्ने उहाँले जानकारी दिनुभयो । गृहले जिल्ला प्रशासन कार्यालय चितवनमा फाईल पठाईसकेको छ । बिस्फोट गर्न छिट्टै अनुमति र सामग्री पाएमा कम समय सडक बन्द गरेर भित्तो काट्न सकिने अनुमान गरिएको छ । रातको समयमा काम गर्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल भईरहेको छ । जटिल ठाउँमा भएकाले घटना हुन सक्ने भन्दै रातको समयमा काम गर्ने आँट ठेकेदार कम्पनीले गरेको छैन ।
यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टीको भित्तो काट्ने काम ८० प्रतिशत सकिएको छ । अबको १५ दिनमा काम सम्पन्न हुने अनुमान छ । दायाँपट्टीको भित्तो काट्ने काम सकिएको छ । पहिलो ३० दिनमा दिउँसो सवारी रोकेर काम नसकिएपछि पुनः माघ ६ गतेबाट ३० दिनको लागि दिउँसोमा सवारी रोकेर काम भईरहेको छ । दिउँसो १२ बजेबाट ४ बजेसम्म सवारी रोक्ने गरिएको छ । यही गतिमा काम भएमा थप दुई महिना सवारी रोक्नु पर्ने देखिएपछि बिस्फोटको विकल्प खोजिएको हो ।
डाँडो तल झरेकाले बिस्फोट गर्दा कम क्षति हुने जनाईएको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ । यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन् । यसअघिनै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँच वटा पुल निर्माणाधीन रहेका छन् । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्काे पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो ।
विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो । एउटा पुलको काम शुरु भएको छैन । पुलको छेउमा सुकुम्बासी बसेकाले हटाउन नसक्दा काम रोकिएको हो । विश्व बैंकको सहयोगमा काम गर्दा क्षतिपूर्ति दिलाएर मात्रै काम गर्नुपर्ने प्रावधान रहेको छ । कार्कीका अनुसार क्षतिपूर्तिका लागि रु.१ करोड हाराहारी खर्च हुन्छ । रकम माग गरिएको भए पनि प्राप्त हुन नसक्दा काम शुरु गर्न नसकिएको हो । पुल निर्माण सम्पन्न गर्नुपर्ने मिति २०८० पुस ९ गतेसम्म रहेको छ । शुरुमा ३३ महिनाका लागि सम्झौता भएपनि काम सम्पन्न नभएपछि हालै समय एक वर्ष थप गरिएको छ । सो सडकका १५ वटा पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनले बोलपत्र प्राप्त गरेको छ । पुल निर्माणका लागि लागत रु. १ अर्ब २२ करोड हाराहारी छ ।
सो सडकमा यस अघिका पुल साँघुरा थिए । अहिले बनाईएका पुल ११ मिटर फराकिला छन् । सडक नौदेखि ११ मिटर फराकिलो रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्दछन् ।






