चितवनः एकै वर्षमा सात जनासम्म मेडिकल सुपरिटेण्डेण्ट (मेसु) परिवर्तन हुँदा अस्तव्यस्त बनेको भरतपुर अस्पताल सुधारको बाटोमा अघि बढेको छ । विगत एक वर्षदेखि एउटै मेसुले काम गर्ने अवसर पाएसँगै अस्पतालको सेवा सुविधामा सुधार भएको हो । त्यसो त सेवा सुधारसँगै बिरामीको आकर्षण बढेका कारण भिडभाड थपिंदै गएको छ ।
निजी र ठूला अस्पतालसँग दाँजेर हेर्नेहरुले धेरै कमिकमजोरी औल्याए पनि सरकारी तवरबाट न्यून जनशक्तिमा दिईएको सेवाको भने धेरै प्रशंसा गरेका छन् । अस्पतालमा दैनिक १ हजार ५०० सय बिरामी बहिरंग सेवामा आउने गर्दछन् । ६ सय शैयाको यो अस्पताल संघीय अस्पताल हो । चितवन सहित छिमेकी जिल्लाहरुबाट यहाँ बिरामी आउने गर्दछन् । आएका बिरामी मध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गर्दछन् ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेल बिरामीको सेवासुविधालाई दृष्टिगत गरी सेवा विस्तार गरिँदै आएको बताउनुहुन्छ । अस्पतालले गुणस्तरीय सेवासँगै अति विशिष्ट सेवा सञ्चालनमा ल्याएपछि बिरामीमा आकर्षण बढेको उहाँको भनाई छ ।
अस्पतालमा भिड बढेपछि बहिरंग सेवा (ओपिडी) को टिकट बिहान ७ः३० बजेबाट दिउँसो २ बजेसम्म बनाईएको छ । विशेषज्ञ ओपिडि बिहान ९.३० देखि २.३० बजेसम्म सञ्चालन हुँदै आएको छ । नेपालका सरकारी अस्पतालमा पहिलोपटक साधारण बहिरंग सेवा (जिओपिडी) सेवा शुरु गरिएको छ । बिहान ८ बजेबाट शुरु हुने यो सेवा बेलुकी ५ बजेसम्म चल्दै आएको अस्पतालले जनाएको छ ।
बिरामीको सहजतालाई ध्यानमा राखेर अस्पताल भित्र सोधपुछ कक्ष र फ्रेण्ड्स अफ भरतपुर अस्पतालसँगको समन्वयमा अस्पताल परिसरमा हेल्प डेस्क सञ्चालन गरिएको छ । शल्यक्रिया कक्ष (अपरेसन थिएटर) को संख्या ६ वटाबाट बढाएर ७ बनाइएको छ । अस्पताल विकास समितिको बजेटबाट थप २ वटा मोडुलर ओटी (अत्याधुनिक शल्यक्रियाकक्ष) निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
सौन्दर्यकरण समिति बनाइ अस्पताल सरसफाइ र सौन्दर्यकरणका काम भईरहेका छन् । अगाडिको पर्खाल पुननिर्माण, मुख्य बोर्ड र मन्दिर समेतमा रंगरोगन र मर्मत सम्हार गरिएको छ । प्रत्येक सोमबार अतिरिक्त सरसफाई हुँदै आएको छ ।
ट्रमा इमर्जेन्सी शुरु गरिएको छ । अस्पतालमा ट्रमा म्यानेजमेन्ट सिस्टम प्रभावकारी बनाईएको छ । सि ब्लक भवनमा टरसियरी लेभलको ट्रमा सेन्टर बनाउन काम शुरु भईसकेको छ । यो काम सम्पन्न भएपछि नेशनल ट्रमा सेन्टरपछि नेपालमै दोस्रो सरकारी स्तरको ट्रमा सेन्टर भई दुर्घटनाका बिरामीलाई छिटोछरितो सेवा दिन सकिने मेसु पौडेलले बताउनुभयो ।
५० शैया क्षमताको नयाँ भवनमा असोज पहिलो सातासम्म आकस्मिक कक्ष सञ्चालन गरिंदै छ । सोही भवनमा प्रयोगशाला सहित अन्य सेवाहरु दिने तयारी अस्पतालले गरेको छ । शौचालय र ढल निकासको राम्रो व्यवस्थापनको लागि स्थानीय निकायलाई आग्रह गरिएको उहाँको भनाई छ ।
प्रसुती सेवालाई थप व्यवस्थित गर्न अस्पताल विकास समितिकै खर्चले प्रस्ताव र विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । प्रसुतीको छुट्टै भवन निर्माण गरी अझ गुणस्तरीय सेवा दिने तयारी भईरहेको छ ।
कोभिड महामारीको समयमा सघन उपचार कक्षमा शैया अभावभएपछि थप १० शैया सघन उपचार कक्ष र पाँच शैयाको १ महिनादेखि १५ वर्षसम्मका बालबालिका राख्ने सघन उपचार कक्ष थप गर्न कार्यक्रम स्वीकृत भई कार्य अगाडि बढेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “दुइवर्ष अघि पंक्षी प्रयोगशालामा सुरु गरिएको पिसिआर प्रयोगशाला अस्पतालकै नयाँ भवनमा सारेर सेवा नियमित गरिएको छ ।”
टिकट काउन्टरको भिड कम गर्न काउन्टर संख्या थप गरिएको भन्दै उहाँले बहिरंग सेवा निःशुल्क गरिएको जानकारी दिनुभयो । उहाँले अगाडि थप्नुभयो “टिकट काउन्टरमा भिड कम गर्न अनलाईन टिकट काट्ने व्यवस्था गरेका छौं ।”
नेपाल सरकारले ८ वटा कडा रोगका लागि दिने सुविधा सामाजिक सेवा इकाइबाट दिईदै आईएको छ । यसलाई थप व्यवस्थित र चुस्त बनाउने कार्य भईरहेको उहाँ बताउनुहुन्छ । मानवस्रोत र पूर्वाधारको हिसाबले यो आफै मेडिकल कलेज बनिसक्नु पर्ने अस्पताल भए तापनि हालसम्म हुन सकेको भन्दै उहाँले भन्नुभयो “तर पनि नर्सिङ, एमडि, एमएस कार्यक्रम सञ्चालन गरिरहेका छौं । यस वर्ष बिएस्सी नर्सिङ शुरु गर्ने तयारी भईरहेको छ ।”
सेवालाइ अझै गुणस्तरीय बनाउन क्यूए (क्वालिटी एस्योरेन्स कमिटी र डियूटी अफिसर) को व्यवस्था गरी काम अघि बढाईएको छ । छिटो सेवा चाहने बिरामीलाई लक्षित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विस्तारित अस्पताल सेवा कार्यबिधि अनुसार छुट्टै भवनमा पेईङ सुपरस्पेशलाईज क्लिनिक सञ्चालन गरिएको छ ।
चिकित्सक, नर्स, प्राबिधिकहरुलाई स्वास्थ्य विषयमा अनुसन्धान गर्न प्रेरित गर्ने उद्देश्यले विकास समितिले निर्णय गरी एक वर्षमा १० वटा ऊत्कृष्ट अनुसन्धानमूलक प्रस्तावलाई अनुसन्धानको व्यवस्था गरिएको छ । शैक्षिक समिति, संस्थागत पुनरावलोकन बोर्ड गठन गरिएको छ । यो अस्पताल देशभरिका स्वास्थ्यकर्मीलाई विभिन्न तालिम दिने लोकप्रिय केन्द्र बन्दै गईरहेको सन्दर्भमा सोही अनुसारको व्यवस्थापन गरिएको पौडेल बताउनुहुन्छ ।
अस्पतालमा आवश्यक प्राविधिक जनशक्तिको निष्पक्ष रुपमा लिखित र मौखिक परीक्षा गरी चिकित्सक, नर्स, फार्मेसी र प्रयोगको जनशक्ति थप गरिएको छ । कर्मचारी प्रशासन र अस्पताललाई अनुशासित बनाउन दण्ड र पुरस्कार दिने परिपाटीको विकास गरिएको छ । सोही अनुसार कतिपय कर्मचारीलाई पुरस्कृत र कतिपयलाई कारवाही गरिएको अस्पतालले जनाएको छ ।
नवजात शिशु सघन उपचार कक्ष र बाल सघन उपचार कक्षमा शैया थप गर्ने कार्य भईरहेको छ । मृर्गाैला डाईलासिस उपकरण १० बाट बढाएर १५ बनाईदै छ । एमआईआई मेसिन गत वर्ष नै मन्त्रालयबाट स्वीकृत भए पनि अर्थमन्त्रालयमा रोकिएकोमा यस वर्ष बजेट सुनिश्चित भई खरिद प्रक्रिया शुरु भईसकेको उहाँले जानकारी दिनुभयो ।
मेसु पौडेलले भन्नुभयो “बन्द भएको स्पाइनल वार्ड नयाँ भवनमा शुरु गरेका छौं ।” फिजियोथेरापी सेवालाई ठूलो र फराकिलो ठाउँमा सारी समय सापेक्ष उपकरण थप गरी आधुनिक र चुस्त बनाईएको उहाँले बताउनुभयो । उहाँले अगाडि थप्नुभयो “दुई वर्षदेखि बन्द रहेको न्युरोसर्जरी सेवा पुनः नियमित सञ्चालनमा ल्याईएका छौं ।”
अस्पताल परिसरमै छुट्टै सरुवा रोग अस्पताल भवनको निर्माण कार्य जारी रहेको छ । पार्किङ स्थलमा मोज्याक टायल लगाई व्यवस्थित बनाईएको छ भने सि ब्लब अगाडिका पुराना संरचना भत्काउने कार्य जारी रहेको छ ।
फार्मेसी व्यवस्थापनलाई चुस्त बनाई यसलाई बढी सेवामूलक बनाईएको छ । समयमै औषधि आपूर्ति नगर्ने आठ वटा सप्लायर्सलाई गत वर्ष कारवाही गरिएको उहाँले बताउनुभयो । असोज १ गतेबाट छुट्टै निःशुल्क औषधि काउन्ट खोलिंदै छ । प्रसुतीको लागि २४ शैयाको छुट्टै पोस्टअप बार्ड बनाएको छ । लेबर रुमलाई आधुनिकिकरण गरी थप पाँच लेवर बेड थप्ने काम भईरहेको पौडेलले बताउनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारी केन्द्रीय विशिष्टिकृत अस्पताल भने पनि राज्यकोतर्फबाट त्यसको निर्देशिका वा सिस्टम आईनसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “कोरोनाको ठीक पछाडि हामीले परिणामुखी काम गरिरहेका छौं ।”
अस्पतालमा सबैभन्दा ठूलो समस्याका रुपमा रहेको प्रसुतीको छुट्टै अस्पताल निर्माणको काम अघि बढेको भन्दै उहाँले पार्किङको समस्यालाई समाधान गर्न नयाँ आकस्मिक भवनको पूर्वतर्फको खाली जमिनलाई उपयोग गरिने उहाँले जानकारी दिनुभयो ।
न्यून जनशक्तिमा धेरै काम गर्नुपरेको उहाँको भनाई छ । अस्पतालमा हाल सञ्चालनमा रहेका ६ सय शैयामध्ये १५० शैयाको लागि मात्रै सरकारी दरबन्दी छ । अन्य विकास समितिका कर्मचारी मार्फत् काम गर्नु परेको छ । अध्यक्ष अधिकारीले ओएनएम सर्वे भएर प्रक्रिया अगाडि बढेको बताउनुभयो । सर्वेमा भरतपुर अस्पतालका लागि १ हजार ८५ चिकित्सक कर्मचारी आवश्यक देखिएको छ । हाल नेपाल सरकारका १७५ जना चिकित्सक कर्मचारी मात्रै कार्यरत छन् ।
सर्वे गरेर स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयमा पठाईसकेको उहाँको भनाई छ । सरकारले ओएनएम सर्वे अनुसारका दरबन्दी पठाएसँगै अहिले भईरहेको भिडको समस्या समाधान हुने उहाँ बताउनुहुन्छ । अस्पताल विकास समितिले दैनिक ज्यालादारीको अन्त्य गर्दै भईरहेका कर्मचारीलाई करार गर्ने अन्तिम तयारी गरेको अधिकारीले जानकारी दिनुभयो ।
पछिल्लो समय अस्पतालले सुधारका महत्वपूर्ण कामहरु गरेको उहाँ बताउनुहुन्छ । प्रशस्त काम भएको भए पनि निजी ठूला अस्पतालसँग दाँज्दा धेरै कमि कमजोरी देखिने उहाँको भनाई छ । उहाँले भन्नुभयो “ओएनएम सर्वे अनुसारका कर्मचारी आउँदै गर्दा अनुभूति हुने गरी सेवा दिन हामी सक्छौं ।” यो राजधानी बाहिरको नेपाल सरकारको धेरै बिरामीलाई सेवा दिने अस्पतालमा पर्दछ ।





