चितवनः पालिका प्रमुखहरुले आँखा उपचारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेत्रज्योती संघ चितवन शाखाले सोमबार साँझ चितवन र भरतपुर महानगरपालिकासंग जोडिएका छिमेकी जिल्लाका जनप्रतिनिधिहरुसंग गरेको कार्यक्रममा उनीहरुले आँखा उपचार आफ्नो पालिकाको कार्यक्रमका रुपमा राखेर अघि बढ्ने बताएका हुन ।
संघले चितवनका सात पालिकाका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समिति चितवनका प्रमुख र उपप्रमुख, नवलपरासीको गैंडाकोट नगरपालिकाका प्रमुख र उपप्रमुख, तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई स्वागत र सम्मान संगै पालिकाहरुमा आँखा स्वास्थ्य समस्याको बर्तमान अबस्थाको बारेमा जानकारी गराएको थियो । सो अबसरमा बिगत देखि हाल सम्म संघले सञ्चालन गरेका आँखा अस्पताल, उपचार केन्द्रहरु संगै उपस्थित जनप्रतिनिधिका पालिकाहरुमा आँखाको अबस्थाको बारेमा जानकारी दिईएको थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले चितवन र छिमेकी जिल्लाका बिरामीहरुको उपचार गर्दै आएको संघले सञ्चालन गरेको भरतपुर आँखा अस्पताल महानगरको गौरब र गहना भएको बताउनुभयो । आँखा उपचार आँफैमा महत्वपूर्ण भएको भन्दै उहाँले बिगतका बर्षहरुमा महानगरले सहयोग गर्दै आएको र आउँदा दिनहरुमा आँखा उपचारका लागि अस्पताललाई थप सहयोग गर्ने बताउनुभयो । निर्माणाधिन भवनलाई रु १ करोड दिन लागिएको भन्दै उहाँले थप सहकार्यका लागि गर्न लागिएका महत्वपूर्ण कामहरु केही दिनमा सार्बजनिक गर्ने बताउनुभयो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले संस्थापकहरुको योगदान उच्च रहेको भन्दै आँखा उपचारमा सबैको साथ र सहयोग जरुरत रहेको बताउनुभयो । अस्पतालले पु¥याएको सेवाको बारेमा आँफु जानकार रहेको भन्दै अधिकारीले यसले चितवन र छिमेकी जिल्लाका धेरै बिरामीको उपचार गरेको बताउनुभयो ।
खैरहनी नगरपालिकाका प्रमुख शशी खनिया, कालिका नगरपालिका प्रमुख बिनोद रेग्मी, गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले आँखा अस्पतालले हाल गरिरहेको सेवाको बारेमा जानकारी भएको भन्दै उपचारका लागि आबश्यक हुने सबै खालका सहयोगका लागि तयार भएको बताउनुभयो । उहाँहरु मध्ये कतिपयले आँखा उपचार केन्द्र स्थापना गर्नका लागि जग्गा, भवन र कर्मचारी पारिश्रमिकमा समेत सहकार्य गर्न सकिने बताउनुभयो । संघका केन्द्रीय सदस्य चिजकुमार मास्केले पालिका प्रमुखहरुले आँखा उपचारको आबश्यकताका बारेमा बुझ्न सकेमा नागरिकलाई रोगबाट मुक्ती दिलाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो “स्कुल पठाउनु अघि बालबालिकाको आँखा परिक्षण मात्र गरे पनि धेरैको आँखा जोगाउन सकिन्छ ।”
संघका संस्थापक सचिब प्रभात कुमार जोशीले अस्पताल स्थापना देखि हाल सम्म भएका गतिबिधिका बारेमा प्रकाश पार्दै सरकारी निकायबाट आसा गरे जति सहयोग हुन नसकेको बताउनुभयो । संघका सभापति कृष्णराज धरेलले सबै पालिकाका प्रमुहरुलाई आँखा उपचार जस्तो सम्बेदनशिल क्षेत्रमा बिशेष ध्यान पु¥याएर सहकार्य गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा पालिकाहरुमा आँखाको अबस्थाको बारेमा अस्पतालका डा. रन्जीत कुमार शाहले बिस्तृत जानकारी गराउनुभएको थियो । सो अबसरमा संघका सहसचिब केशब अधिकारी र भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालले आँखा उपचारमा आबश्यक सहयोगका लागि अनुरोध गर्नुभएको थियो ।
झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिंदै आएको संघले चितवन सहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई समेत तीब्रता दिएको छ । संघले शुरुवात गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र संचालन गर्दै आएको छ ।
बि.सं. २०४४ साल चैत १८ गते भरतपुर महानगरपालिका वडा नं. १० मा स्थापना भएको भतपुर आँखा अस्पताल अन्तर्गत भरतपुर उकालोमा बहिरंग विभाग, तीन वटा सेकेण्डरी अस्पताल र १० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् । चितवन सहित ६ जिल्लामा अस्पताल र सेवा केन्द्र रहेका छन् । भारतयि नागरिक सहित १२ जिल्लाका वासिन्दाले प्रत्यक्ष रुपमा सेवा पाएका छन् ।
अस्पतालले भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुर उकालोमा चिजकुमार विष्णुकुमारी बहिरंग विभाग, पर्साको ठोरी, नवलपरासीको कावासोती र बाराको सिम्रनगढमा सेकेण्डरी अस्पताल संचालनमा ल्याएको बताउनुभयो । त्यस्तै चितवनको चनौली, माडी, कुरिनटार, रत्ननगर, पर्सा, धादिङको बेनिघाट र सल्यानटार, नवलपुरको चोरमारा र होप्सीकोट र सिन्धुलीको दुधौलीमा आँखा उपचार केन्द्र संचालनमा रहेका छन् ।
सेकेण्डरी अस्पतालमा सबै सेवा उपलब्ध गराईएको छ भने उपचार केन्द्रमा शल्यक्रिया बाहेकका सेवा दिईदै आएको छ । गएको असार १५ गते यता जेठ १५ गतेसम्म सेकेण्डरी अस्पताल र आँखा उपचार केन्द्रबाट ४५ हजार ३१० जनालाई सेवा दिईसकिएको छ । भरतपुर आँखा अस्पताल र चिजकुमार विष्णुकुमारी बहिरंग विभागबाट १ लाख ४ हजार ६२४ जनालाई सेवा दिईएको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिनुभयो ।
यसै अवधिमा विभिन्न ठाउँमा गरिएका शिविरमा ५९ हजार १४६ जनाको आँखाको निःशुल्क परीक्षण गरिएको थियो । १११ ठाउँमा एक दिने शिविर र १७ ठाउँमा शल्यक्रिया सहितको सर्जिकल शिविर गरिएको उहाँले बताउनुभयो । एक दिन शिविरमा परीक्षणको क्रममा शल्यक्रिया गर्नुपर्नेहरुलाई भरतपुर आँखा अस्पतालमा ल्याएर गरिएको छ । घिमिरेका अनुसार यस वर्ष शिविरहरुमा ४ हजार ३४१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।





