काठमाडौंः संसद् खुलाउने र एमसीसी अनुमोदन गर्ने विषयमा काँग्रेस एमालेका नेताहरूबीच शनिबार भएको छलफल पनि विना निष्कर्ष सकिएको छ ।
एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा नेताहरूबीच भएको छलफलपछि सरकारका प्रवक्ता समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूले संसद् अवरोध हटाउन एमालेसँग प्रस्ताव राखेपनि एमालेले पुरानै अडान दोहोर्‍याएको बताउनुभयो । कार्कीले एमालेले पुरानै अडान दोहोर्‍याएको भन्दै संसद्मा आफूहरूलाई प्रवेशको ढोका खोल्नुपर्छ भन्ने सर्त नछाडेको जानकारी दिनुभयो ।

काँग्रेस एमालेबीच आजको छलफललाई निर्णायक भनिएको थियो । आइतबारको संसद् बैठक खुल्छ भन्ने रु प्रश्नमा मन्त्री कार्कीले भन्नुभयो, ‘मैले तपाईंहरूलाई नयाँ खवर भनौला भनेको थिएँ त्यो भएन ।’ उहाँले अहिलेसम्म गठबन्धन दायाँबायाँ नभएको समेत बताउनुभयो । उहाँले संसद् सुचारु होस् भन्ने आशामात्र गर्न सकिने बताउनुभयो । छलफलपछि एमाले महासचिव शंकर पोखरेलले विगत ५र६ महिनादेखि सभामुखको भूमिकालाई लिएर आफूहरूले संसद् अवरोध गर्दै आएका भन्दै जबसम्म सत्ता पक्ष आफ्ना माग पुरा गर्दैन तबसम्म संसद् अवरोध जारी रहने बताउनुभयनो । साथै उहाँले सत्तापक्षले एमसीसीमा खोजेको सहमतिमा पनि पहिला गठबन्धनको एकीकृत धारणा बनाएपछि मात्रै आफूहरूले धारणा बनाउने जानकारी दिनुभयो । ‘दोस्रो संसद्‍मा प्रवेश बाटो बनाउनुस् त्यसपछि स्पष्ट दृष्टिकोण बनाउँछौ भनेका छौ’, महासचिव पोखरेलले भन्नुभयो, ‘लोकतान्त्रिक र राष्ट्रिय सन्दर्भमा छलफल गरिरहने भन्ने भएको छ । कुनै नयाँ निष्कर्षमा पुगेका छैनौ ।’

प्रतिक्रिया दिनुहोस !