चितवनः आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा तल्ला तहसम्म पु¥याईने भएको छ । सरकारी नजरमा ओझेलमा परेका कारण यो स्वास्थ्यमा सर्वसाधारणले ठूलो मूल्य चुकाउँदै जान थालेपछि सरकारले तल्ला तहसम्म सेवा पु¥याउन लागेको हो ।
स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाको आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा. प्रकाश बुढाथोकीले सात वटै प्रदेशमा यस सम्बन्धी तालिम सञ्चालन गरेर सेवालाई तल्लास्तरसम्म पु¥याउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो “ आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यमा सर्वसाधारणको ठूलो खर्च भएको छ, जनको समेत क्षति बढ्दै गएको छ ।” कोही पनि यो सेवाबाट बञ्चित हुन नपरोस् भनेर तालिम अभियान सञ्चालन गरिएको उहाँको भनाई छ ।
विगत तीन वर्षदेखि आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा राखेर काम हुँदै आएको डा. बुढाथोकीले जानकारी दिनुभयो । सबै प्रदेशमा तालिम सञ्चालन गरेपछि स्वास्थ्य चौकीसम्म यो सेवा विस्तार हुने उहाँले बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “स्वास्थ्य चौकीमा सम्भव हुने उपचार हुन्छ, नहुने माथिल्लो स्वास्थ्य संस्थामा रिफर हुन्छ ।” विगत दुई वर्षमा प्रदेशहरुमा नीति निर्माण र अन्य कामले गर्दा अलमल हुँदा बजेट समेत फ्रिज भएको उहाँको भनाई छ ।
यही अभियान अन्तर्गत मधेश प्रदेशले चितवनमा तालिमको आयोजना गरेको छ । मधेश प्रदेश स्वास्थ्य तालिम केन्द्रका प्रमुख शरदचन्द्र न्यौपानेका अनुसार एक हप्ता अगाडि १४ जना स्वास्थ्यकर्मीलाई तालिम दिईएको छ भने थप १४ जनाको तालिम भईरहेको छ । तालिममा मधेश प्रदेशका स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी हुनुहुन्छ । आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिममा भरतपुर अस्पतालका डा. अजय न्यौपानेले मुख स्वास्थ्य, डा. सुमित पाण्डेले आँखा, डा. रमेश भण्डारीले नाक, कान, घाँटी सम्बन्धी प्रशिक्षण दिईरहनु भएको छ ।
प्रमुख न्यौपानेले मधेश प्रदेशमा प्रशिक्षक नभएपछि चितवनमा ल्याएर तालिम दिईएको जानकारी दिनुभयो । उहाँले अगाडि थप्नुभयो “एक त मधेश प्रदेशमा प्रशिक्षक हुनुहुन्न अर्काे कार्यक्षेत्रभन्दा टाढा लगेर तालिम दिक्षा ध्यान अन्यत्र नजाने र तालिम प्रभावकारी हुने हुँदा चितवनमा तालिम आयोजना गरेका हौं ।” प्रशिक्षक लगेर तालिम दिंदा धेरै खर्चिलो हुने भएकाले चितवन नै आएर तालिम गरिएको उहाँको भनाई छ । यो तालिम सम्पन्न भएपछि मधेश प्रदेशमा २८ जना प्रशिक्षक तयार हुने बताउँदै न्यौपानेले भन्नुभयो “अब मधेश प्रदेशका जिल्ला जिल्लामा आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा प्रशिक्षण हुन्छ ।”
प्रशिक्षक एवं भरतपुर अस्पतालका दन्तरोग विशेषज्ञ डा. अजय न्यौपानेले मुख स्वास्थ्यका विषयमा धेरै हेलचक्र्याई हुने गरेको बताउनुभयो । उहाँले ९० प्रतिशत बालबालिका र ७० प्रतिशत अन्य मानिसहरुमा दाँतको समस्या रहने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “दाँत र मुखको सरसफाईको कमी छ, दिनमा दुई पटक ब्रस पनि गरिंदैन ।” खानपिनमा परिवर्तन भएको, चक्लेट लगायतका दाँतमा टाँसिने खाना धेरै खान थालिएको तर नियमित दन्त परीक्षण नगरिएका कारण दाँतको समस्या बढ्दै गएको डा. न्यौपानेको भनाई छ ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका नाँक, कान घाँटी क्यान्सर रोग विशेष डा. अनिलबिक्रम कार्कीले आँखा, नाक, कान, घाँटी तथा मुखको सरसफाईको कमीले क्यान्सर समेत हुन सक्ने बताउनुभयो । उहाँले नाक–कान–घाँटीको क्यान्सर चौथो बढी क्यान्सर हुनेमा पर्ने गरेको बताउँदै भन्नुभयो “ नाक–कान–घाँटीको क्यान्सरको मुख्य कारण सूर्तीजन्य पदार्थ र मद्यपानको सेवन, मुखमैथुन हो ।” पान, सुपारी, गुड्का, गुल्क जस्ता वस्तुको अम्बलका कारण पछिल्लो समय नाक, कान घाँटीको क्यान्सरका समस्या बढ्दै गएको उहाँको भनाई छ । तिखो दाँतले घोचेर चोट लागेपछि मुखमा क्यान्सर हुने गरेको डा. कार्कीको भनाई छ ।






