चितवनः प्रसुती सेवाका लागि ख्याती कमाएको भरतपुर अस्पतालमा चाप बढ्दै गएपछि यहाँको शैय्याले धान्न मुस्किल हुँदै गएको छ । शैय्या संख्याभन्दा बढी प्रसुती सेवा लिन आउँदा अस्पताललाई व्यवस्थापन गर्न कठिन हुने गरेको हो ।

चितवन र छिमेकी जिल्लाका महिलाहरुको प्रसुतीको पहिलो चाहना भरतपुर अस्पताल हुने गर्दछ । गर्भवतीले परीक्षण निजीमा गर्दै आएपनि बच्चा जन्माउन भने भरतपुर अस्पताल आउने गर्दछन् । अन्यत्र काम गर्ने चिकित्सकले समेत प्रसुती सेवा लिन भरतपुर अस्पताल आएको पाईन्छ ।

अस्पतालमा साउन यता पुस मसान्त सम्म ७ हजार १ सय ९८ जना आमाले शिशु जन्माई सकेका छन् । गत वर्ष भरमा यो संख्या ९ हजार ७ सय ६६ थियो । अस्पतालका प्रसूती रोग विभाग प्रमुख डा. सुनिलमणी पोख्रेल दैनिक ४० देखि ४५ जनाले यहाँ बच्चा जन्माउने गरेको बताउनुहुन्छ । ती मध्ये ३० देखि ३३ प्रतिशतको शल्यक्रिया गरेर बच्चा झिक्ने गरिएको छ । गत वर्षभन्दा यो वर्ष संख्या निकै बढेको भन्दै उहाँले यस वर्ष १२ हजार बढीले सेवा लिने देखिएको बताउनुभयो ।

बच्चा जन्माइसकेका आमाहरुले ठाउँ अभावमा भूइमा बस्नुपर्ने बाध्यता रहेको छ । पोख्रेल भन्नुहुन्छ “अहिले दैनिक १०÷१५ जना भूईमा सुत्न बाध्य रहेका छन् ।” अस्पतालमा एक सय ५० शैय्या प्रसूतीका लागि छुट्याईएको छ । शल्यक्रिया पछि राख्ने पोष्टअपमा १२ शैय्या प्रसूतीका लागि छ । यस सँगै १६ वटा मेडिकल क्याबिन भएको पोख्रेल बताउनुहुन्छ । उहाँले थप्नुभयो “बिरामीको चाप बढि भएका कारण सुत्केरी महिला भूईमा सुत्न बाध्य रहेका छन् ।” चाहेर पनि शैय्यामा राख्न नसकिएको उहाँको भनाई छ ।

शल्यक्रिया गरेकालाई भूईमा राख्न नमिल्ने हुँदा सामान्य अबस्थामा सुत्केरी भएकाहरुलाई भूईमा राखिन्छ । शल्यक्रिया गरेकाहरुलाई सात÷आठ दिन सम्म राख्नु पर्ने हुँदा शैय्याको अभाव हुने गरेको हो । कोभिड प्रकोपसँगै पछिल्ला महिनाहरुमा १५ देखि २० जना सङ्क्रमितको प्रसूती यहाँ हुने गरेको छ । ती मध्ये ३० प्रतिशत हाराहारीलाई शल्यक्रिया गर्ने गरिन्छ ।

अस्पतालका मेडिकल सुपरिडेण्डेन्ट प्रा.डा. कृष्ण पौडेल प्रसूती गर्नेहरुको पहिलो रोजाई भरतपुर अस्पताल हुने गरेको भन्दै सोचे जस्तो व्यवस्थापन गर्न अझै नसकिएको स्वीकार गर्नुहुन्छ । १६ जना बिशेषज्ञ चिकित्सक सहित १ सय २५ जना हाराहारी स्वास्थ्यकर्मी र कर्मचारी यो विभागमा कार्यरत रहेका छन् । डा. पौडेलले भन्नुभयो “अस्पतालमा छुट्टै प्रसुती गृह आवश्यक रहेको छ ।” अस्पतालले प्रसूती सेवामा राम्रो सेवा दिनका लागि आवश्यक गृहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो । पौडेलले थप्नुभयो “संघीय अस्पताल भएकाले चितवन सहितका छिमेकी जिल्लाका महिलाहरुका लागि प्रसूती सेवाको केन्द्र बनेको छ ।” अस्पतालले छुट्टै प्रसुती गृह निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) को काम अघि बढाएको छ । शुरुमा सुविधासम्पन्न ५० शैय्या र थप गर्दै लैजाने गरी प्रसुतीगृह निर्माण गर्न लागिएको उहाँको भनाई छ । सरकार र विकास समितिको संयुक्त लगानीमा भवन निर्माण गर्न लागिएको हो ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले निजी अस्पतालमा जाँदा सामान्य प्रसूती तर्फ ध्यान नै नदिएर शल्यक्रिया गर्ने गरेकाले भूईमानै सुत्नु परे पनि भरतपुर अस्पताल आउन रुचाउने गरेको बताउनुहुन्छ । उहाँको भनाईमा अस्पतालमा चिकित्सक सँगै स्वास्थ्यकर्मी लामो अनुभव भएकाले धेरैले सामान्य तरिकाले बच्चा जन्माउने गरेका छन् । उहाँले भन्नुभयो “प्रसूतीमा हाम्रो अस्पतालमा जस्तो अनुभवी अन्यत्र कही छैनन् ।” भरतपुर अस्पतालमा २४ घण्टामा ८५ जनासम्मले बच्चा जन्माएको तथ्याङ्क रहेको छ । जस मध्ये ४२ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो । यसै वर्ष पनि ७० जनासम्मको प्रसूती गराईएको अस्पतालले जाएको छ । गत वर्ष कोभिडका कारण प्रसूती गराउनेको संख्या घटेको थियो ।

भरतपुर अस्पताल चितवन सहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । हरेक वर्ष अस्पतालमा ३ लाख भन्दा बढीले सेवा लिएको जनाईएको छ । अस्पतालमा ६ सय शैया छन् ।

प्रतिक्रिया दिनुहोस !