चितवन,१५ मङ्सिर । नेपाली काँग्रेस चितवनको सभापति पदमा उम्मेदवार उत्तम जोशीले निर्वाचन अधिकृत कमलमोहन पोख्रेलको राजीनामाको भर्त्सना गरेका छन् ।

वर्तमान जिल्ला सचिव समेत रहेका जोशीले एक विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृत पोख्रेलको राजीनामाले शंका उपशंका उत्पन्न भएको बताएका हुन् । जिल्ला अधिवेशनको मिति तय भइसकेको अवस्थामा निर्वाचन अधिकृतको राजीनामा आउनुले विभिन्न संसय र आशंका उत्पन्न भएको विज्ञप्तिमा भनिएको छ ।

उनले निर्वाचन अधिकृत गैर जिम्मेवार भएको भन्दै भर्त्सना गरेका छन् । निर्वाचन गराउने अवस्था रहँदा रहँदै पनि हतासमा निर्वाचन रोकेर लोकतान्त्रिक पद्धतिलाई जबरजस्ती अवरुद्ध गर्न खोजिएको उनको ठहर छ । जोशीले तत्काल घोषित मितिमा निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिसँग माग पनि गरेका छन् ।

जोशीले मंगलबार औपचारिक रुपमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका थिए । कांग्रेस चितवनका निर्वाचन अधिकृत पोख्रेलले पनि मंगलबार नै राजीनामा दिएका थिए । उनले आफ्नो स्वास्थ्य अवस्था प्रतिकुल रहेको भन्दै केन्द्रीय निर्वाचन समितिलाई राजीनामा पत्र बुझाएका छन् ।

कांग्रेसको चितवन जिल्ला अधिवेशन मंसिर १५ र १९ गते हुने तालिका छ । १५ गते मनोनयन दर्ता र १९ गते मतदानको कार्यक्रम तय भएको छ ।

यस्तो छ जोशीको विज्ञप्ति ?

विषयस् प्रेस बिज्ञप्ति

नेपाली कांग्रेसको चौधौं महाधिवेशनका क्रममा वडा, पालिका, प्रदेश, क्षेत्र स्तरीय निर्वाचन सम्पन्न भइसकेको र जिल्ला अधिवेशनका लागि यहीँ मिति २०७८र०८र१५ मा उमेदवारहरुको मनोनयन पत्र दाखिल गर्ने र २०७८र०८र१९ मा निर्वाचन गर्ने मिति तय भइसकेको अवस्थामा जिल्ला निर्वाचन प्रमुखको राजीनामा आउनुले विभिन्न संसय र आशंका उत्पन्न गरेको छ। निर्वाचन प्रमुखको यो गैरजिम्मेवार कृत्यको म घोर निन्दा र भत्सर्ना गर्दछु। निर्वाचन गराउन सक्ने अवस्था कायम रहँदा रहँदै हतास निर्वाचन रोक्नु लोकतान्त्रिक पद्धतिलाई जबर्जस्ती अवरुद्ध गर्नु हो भन्ने मेरो ठहर रहेको छ। म तत्काल घोषित मितिमा निर्वाचन गर्न केन्द्रीय निर्वाचन समिति समक्ष जोडदार माग गर्दछु। जयनेपाल।।

सभापति पदका उमेदवार

उत्तम जोशी

प्रतिक्रिया दिनुहोस !