चितवनः राप्रपा नेपालका अध्यक्ष कमल थापाले कार्यपालिका, व्यवस्थापिका, र न्यायपालिका संकट ग्रस्त रहेको बताउनुभएको छ । मिडिया नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संकटका कारण संबिधान र व्यवस्था प्रति प्रश्न उठेको बताउनुभयो ।
उहाँले भन्नुभयो “न्यायलयमा देखिएको बिबाद समाधान गर्न लाग्नु पर्छ ।” उहाँले संसद चल्न नसक्नु, न्यायलयमा विवाद आउनुले संबिधान र व्यवस्थामाथि माथी प्रश्न उठेको बताउनुभयो । प्रधानन्यायधिशलाई हटाउनका लागि संबैधानिक बाटोबाट जानु पर्नेमा न्यायधिश आन्दोलनमा जानुले जनताले न्याय पाउन नसकेको उहाँको भनाई थियो । प्रधानन्यायधिशले राजिनामा दिनु अहिलेको उत्तम बिकल्प रहेको उहाँले बताउनुभयो ।
प्रमुख प्रतिपक्षि दलको अबरोध र सरकारको अकर्मन्यताका कारण संसद चल्न नसकेको उहाँले आरोप लगाउनुभयो । यसले गर्दा समस्या हुने उहाँले बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले राप्रपाको महाधिबेशन पछि राजतन्त्र, हिन्दु राज्यको बिषयमा प्रतिवद्ध भएर अघि वढ्ने बताउनुभयो । राप्रपाको एकताको संक्रमणकालिन समय भएकाले तीन अध्यक्ष भए पनि महाधिबेशन पछि एक अध्यक्ष रहने व्यवस्था बिधानमा भएको उहाँको भनाई छ । काठमाडौंमा यही मंसिर १५ गते देखि १७ गते सम्म चल्ने महाधिबेशनले नयाँ नेतृत्व छनोट गर्ने भन्दै उहाँले अधिबेशतको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।






