चितवनः
पूर्ब राज्यमन्त्री, संबिधान सभा सदस्य शेषनाथ अधिकारीले गएका दुई वर्ष रोकिएको चियापान कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । जनआन्दोलन २०६२/०६३ को सफलता संगै उहाँले हरेक वर्ष दशैंमा चियापान समारोह गर्दै आउनु भएकोमा यस बर्ष सोमबार कार्यक्रम गरिएको हो ।

गत वर्ष कोभिडका कारण र अघिल्लो वर्ष दाजु बितेका कारण अधिकारीले चियापान समारोह गर्नु भएको थिएन । नेपाली काङ्ग्रेस चितवनका पूर्ब सभापति अधिकारीले हरेक वर्षको दशैको दुवादशिको दिन दिउँसो दुई वजे आफ्नै निवास रत्ननगर नगरपालिका वडा नम्बर ३ अस्पताल रोडमा चियापान समारोह गर्ने गर्नुहुन्छ । यस वर्ष प्राबिधिक कारणले त्रयोदशिका दिन चियापान समारोह गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। बिश्वनाथ पौडेल, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्ब सभापतिहरु लगाएत जिल्लाका नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

अधिकारीका अनुसार कार्यक्रममा ५ सय ५० भन्दा वढि नेता कार्यकर्ता उपस्थित भएर शुभकामना आदान प्रदान गरेका थिए । उहाँले भन्नुभयो “एक आपसमा शुभकामना आदान प्रदानको थलोका रुपमा चियापानलाई सबैले लिने गरेका छन् ।” कार्यक्रममा भाषण नहुने हुँदा एक आपसमा शुभकामना आदानप्रदाननै मुख्य हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस !