काठमाडौं : सरकारले बिरामीको उपचारवापत लाग्ने रकम सम्पूर्ण स्वास्थ्य संस्थालाई सात दिनभित्र वेवसाइड तथा सूचना पार्टीमा राख्न जेठ १८ मा नै निर्देशन दिएको थियो।
तर, अधिंकास अस्पतालले सो निर्देशनको पालना गरेका छैनन्।
दुई साता बितिसक्दा पनि कुनै पनि स्वास्थ्य संस्थाले सेवाको प्रकार तथा लागत रकमको शीषर्क सहितको मुल्य सूची सार्वजानिक नगरेकाले पुन मन्त्रालयले सात दिनको समय दिएको छ।
कोरोना महामारीको विषम परिस्थितिमा समेत कतिपय स्वास्थ्य संस्थाले बिरामीको उपचार वापत चर्को शुल्क असुल उपर गरेको, बिरामीका लागि अत्यावश्यक अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामीमाथि थप आर्थिक व्ययभार बढाएको गुनासो बढ्दै गएपछि मन्त्रालयले पटक–पटक स्वास्थ्य संस्थालाई सेवा शुल्क सार्वजानिक गर्न तोकेता गरेको छ।
सरकारले दिएको सो निर्देशनलाई कुनै पनि स्वास्थ्य संस्था मान्न तयार नभएको देखिन्छ।
अधिंकास अस्पतालले वेवसाइडमा सेवा शुल्क अपलोड नगरेको मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले बताए।
केही अस्पतालले भने मन्त्रालयमा ‘हार्ड कपी’ मन्त्रालयमा उपलब्ध गराएको उनले जानकारी दिए।
‘सेवाको मूल्य सूची सबै अस्पतालले सावर्जानिक गर्नुपर्छ। केही अस्पतालले अटेर गर्नुभएको छ,’ डा. उपाध्यायले भने, ‘ पुन, त्यस्ता स्वास्थ्य संस्थालाई निर्देशन दिएका छौं। त्यसो नगरे कानुन बमोजिम कारवाही गर्नेछौं।’
बिरामीले उपचारबापत लाग्ने खर्च रकम बारे जानकारी पाउनु प्रत्येक बिरामीको अधिकार भएको र उपचार शुल्क सार्वजनिक र पारदर्शी गर्न स्वास्थ्य संस्थाको कानूनी तथा नैतिक कर्तव्य भएको मन्त्रालयले जनाएको छ।






