चितवन, : जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र चितवनले जिल्लाका दुई मेडिकल कलेजको आकस्मिक अनुगमन गरेको छ । स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन अनुसार कोभिड–१९ संक्रमितको उपचार भए/नभएको बारेमा अनुगमन गरिएको हो ।

चितवन मेडिकल कलेज (सिएमसी) र कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (सिएमएस) को आज साोमबार अनुगमन गरिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कोभिड उपचारको समग्र अवस्थाबारे अनुगमन गरिएको  जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन अनुसार निःशुल्क उपचार लगायतका सेवा सुविधाबारेमा अनुगमन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “समग्रमा राम्रो देखियो, केही सुधार गर्नुपर्ने विषय सुझाव दिएका छौं ।”

प्रजिअ लामिछानेले भन्नुभयो “कोभिड संक्रमितलाई निःशुल्क उपचार भए नभएको, अतिरिक्त शुल्क लिए नलिएको, लिएको भएमा कुन कुन शीर्षकमा लिएको हो त्यसबारेमा अनुगमन ग-यौं ।” आफूहरुले आवश्यक सुझाव र निर्देशन दिएको बताउँदै उहाँले  भन्नुभयो “केही केही सुधार गर्नुपर्ने कुराहरु देखियो ।”

अनुगमनका १६ बुँदे सूचकभित्र रहेको अनुगमन गरिएको बताउँदै उहाँले भन्नुभयो “समग्रमा हेर्दा कोभिड उपचारको व्यवस्थापन सन्तोषजनक पाईयो ।” उहाँले केही सुधार गर्नुपर्ने पनि देखिएको बताउँदै उहाँले भन्नुभयो “बिरामीले खाना खाने व्यवस्था, कुरुवालाई छुट्टै बस्ने व्यवस्था, शंकास्पदलाई आईसेलेसनमा राख्ने व्यवस्थामा केही सुधार गर्नुपर्ने देखियो ।”

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले निःशुल्क सेवा दिएका संक्रमितहरुको विवरण सार्वजनिक गर्न निर्देशन गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयको जेठ २७ को निर्देशन अनुसार उपचार भए नभएको बारे अनुगमन गरिएको बताउँदै  भन्नुभयो “स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न भनेका छौं ।” सम्बन्धित अस्पतालमा कोभिड उपचार बारे गुनासो सुन्ने संयन्त्र बनाउनु पर्ने देखिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले अगाडि भन्नुभयो “हामीले राम्रो गर्नका लागि केही सुझाव दिएका छौं ।” यो महामारीमा खटेर सेवा दिईएकोप्रति अस्पतालहरुलाई धन्यवाद दिएको उहाँले बताउनुभयो । अनुगमनममा प्राप्त गरेका विवरण र अस्पतालहरुले लिखित रुपमा दिने विवरणलाई समेटेर केही दिनमा प्रतिवेदन तयार गरिने तिवारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !