चितवनः नेपाली काङ्ग्रेस चितवनका सल्लाहाकार एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको आज निधन भएको छ । उहाँको आज काठमाडौं स्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
वि. सं. १९९४ साल पौष २९ गते बुबा सुब्बा मित्रलाल श्रेष्ठ र माता चुँदरी देवीका साइला पुत्रको रुपमा मकवानपुरको चिसापानीगढीमा जन्मनु भएका उहाँले पाल्पाको पव्लिक पदम हाइस्कुलमा अध्ययन गर्नु भएको थियो । वि. सं. २०१२ सालमा चितवन आउनु भएका उहाँले २०१४ सालाको भद्र अवज्ञा आन्दोलनमा कास्की जिल्लामा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । वि.सं. २०१५ सालबाट चितवनमा स्थायी वसोवास गर्नु भएका उहाँ सोही वर्ष भएको आम निर्वाचनमा ५६ नम्बर निर्वाचन क्षेत्रत्रमा काङ्ग्रेसका उम्मेदवारलाई बिजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।
वि.सं. २०१७ सालाको राजनीतिक कु संगै तनहँुको बन्दिपुर सशस्त्र आन्दोलनको नेतृत्व, २०१८ सालमा भरतपुर कव्जा गर्ने शसस्त्र क्रान्तिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका स्वर्गीय श्रेष्ठ माडी, ठोरी क्षेत्रमा समेत शसस्त्र बिद्रोहमा नेतृत्व प्रदान गर्नु भएको काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार वि.सं. २०१८ सालपछी ८ वर्ष निर्वासन, पटक–पटक राजवन्दीका रुपमा जेल जीवन, २१ पटक हिरासतमा पर्नु भएका उहाँ २०४६ सालको जनआन्दोलनमा तत्कालीन सरकारले राज्य द्रोहको आरोप लगाई सेनाको टुकडीले घर घेराउ गरेको थियो । प्रजातान्त्रीक आन्दोलनका अथक संघर्षसिल योद्धा देशमा प्रजातन्त्र स्थापनार्थ आँफुलाई समाहित गर्नु भएका महेश्वरलाल अविवाहित हुनुहुन्थ्यो ।
उहाँको निधनले नेपाली काङ्ग्रेसले असल एवं निष्ठावान नेता गुमाएको जिल्ला सभापति श्रेष्ठ द्धारा जारी शोक बिज्ञप्तिमा उल्लेख छ । काङ्ग्रेस चितवनले स्वर्गिय श्रेष्ठको सम्मानमा पार्टी कार्यालय कमलनगरमा पाँच दिन पार्टीको झण्डा आधा झुकाउने र कार्यालयमा १३ औं तिथिका दिन सम्म शोक पुस्तिका राखिने जनाईएको छ ।





