काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले खोप उत्पादक कम्पनीहरुले प्रतिबद्धता अनुसारको खोप उपलब्ध नगराउँदा समस्या भएको बताउनुभएको छ । आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासशील देशहरूका लागि खडा गरिएको कोभ्याक्स एलायन्सको समग्र योजना नै प्रभावित भएको उल्लेख गर्नुभयो ।

नेपालले हालसम्म ३२ लाख २८ हजार अनुदानमा खोप पाएको र १० लाख मात्रा खरिदबाट खोप लगाएको बताउँदै दोश्रो मात्राको कोभिड खोप जसरी पनि गरिनेमा निश्चिन्त हुन आग्रह गर्नुभयो।

उहाँले कोरोनाबाट विकासशील राष्ट्रमाथि बढी मार परेको उल्लेख गर्दै खोप अभावका कारण विकासशील राष्ट्र बढी समस्यामा रहेको बताउनुभयो । उहाँले आज खोपको असमान वितरण विश्वव्यापी बहसको विषय बनेको बताउँदै विकसित देशहरुले उत्तरदायित्व बहन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो “जी ७ र जी २० अनुसार विकसित देशहरुले विकासशील राष्ट्रहरूमाथि गर्नुपर्ने अन्र्तराष्ट्रिय दायित्व वहन गर्न आवश्यक छ । हामी सबै सबै सुरक्षित नभएसम्म अरु सुरक्षित हुन नसक्ने कुरामा जोड दिन चाहन्छु ।”

जनस्वास्थ्यको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणलाई स्वीकार गर्न नसकिने उहाँको भनाई थियो । यस्तै १ लाख १६ हजार ४ सय जना होम आइसोलेशनमा बसेर उपचार गराइरहेकाहरुलाई स्वास्थ्य लाभको कामना गरेका छन् भने मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !