चितवनः कोरोना कहरको समयमा समेत नारायणी नदी उत्खनन्मा नरोकीएको र जसका कारणले कोरोनाको त्रास समाजमा फैलिएको भन्दै स्थानीयले १५ वटा टिप्परहरु तोडफोड गरेका छन् । भरतपुर महानगरपालिका १६ सानुगढीस्थित ज्ञानेश्वर सामुदायिक वनस्थित सडकमा लामवद्ध रहेका १५ वटा टिप्परलाई आज बुधबार बिहान स्थानीयले तोडफोड गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुर्य थापाले पुष्टि गर्नुभयो ।
कोरोना महामारीका कारण चितवनका निषेधाज्ञा जारी छ । यस्तो बेलामा पनि जथाभावी नदी उत्खनन् गर्दै अनावश्यक भिडभाड गरेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।
कोभिड–१९ को मौका छोपेर गरिएको उत्खनन्ले भरतपुरका अधिकांश क्षेत्रमा टिप्पर आतंक नै फैलिएको स्थानीयले बताएका छन् ।
ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले निषेधाज्ञा भएका बेला भरतपुरमा टिप्पर आतंक भएको बताउनुभयो । उहाँले भन्नुभयो “उत्खनन् भएको ठाउँमा कोरोनाले गर्दा अनुगमन भएको छैन । जसलाई जे मन लाग्यो त्यही गरेको छ । जथाभावी उत्खनन्ले बाढीको जोखिम र जंगल पनि विनास हुने अवस्था छ ।”
पटकपटक गाउँलेले वनको तर्फबाट जथाभावी उत्खनन् रोक्न पहल गुर्नस भनेपछि हामीले पनि वन डिभिजनलाई पत्र पठाएको भए पनि सुनुाई नभएको उहाँले जानकारी दिनुभयो ।
उत्खनन् कार्य निरन्तर रहेका कारण गाउँलेहरु स्वस्फूर्त रुपमा आएर ट्रकमा तोडफोेड गरेको उहाँले जानकारी दिनुभयो । वन्यजन्तु, टिप्पर र बाढीबाट पीडा खेपेका स्थानीयको यो पीडाको आक्रोश हो भएको भन्दै उहाँले अति भएपछि जनता प्रतिकारमा उत्रिएको बताउनुभयो ।
राज्यको प्राकृतिक स्रोत साधनको उचित रुपले प्रयोग हुनुपर्छ भनेर वनले उत्खनन्का लागि स्वीकृत दिएको भएपनि जथाभावी उत्खनन् हुन थालेपछि स्थानीय आक्रोशित बनेका हुन ।






