चितवन, : पछिल्लो २४ घण्टामा चितवनका २४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार २३५ जनामा देखिएको सङ्क्रमण आज २२१ जनामा देखिएको हो । अघिल्लो दिनको तुलनामा आज १२ जना बढी सङ्क्रमित थपिएका छन् ।
चितवन सहित देशभर नयाँ भेरियन्टसहित कोरोना भाइरस दोस्रो लहरमा तीव्ररुपमा फैलिइरएको छ । जिल्लाका विभिन्न अस्पतालमा गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा चितवनमा २४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पिसीआर परीक्षणबाट २१५ तथा एन्टिजेन परीक्षणबाट ३२ जना गरी २४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा चितवनका ४ जना सङ्क्रमितले ज्यान गुमाएका स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये भरतपुरका १९१, रत्ननगरका २६, खैरहनीका ५, राप्तीका ४, कालिकाका ६, माडीका १३ तथा इच्छाकामनाका २ जना रहेका छन् ।
चितवनमा हालसम्म सक्रिय कोरोना सङ्क्रमित सङ्ख्या चार हजार ५६७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये २१० जना अस्पतालको आइसोलेसन तथा चार हजार ३४२ जना होम आइसोलेसनमा बसेका तिवारीले बताए । जिल्लामा १२ हजार ३१५ जना सङ्क्रमित पुग्दा ७ हजार ५६२ जना निको भएका तथा १८६ जना सङ्क्रमितको मृत्यु भएको तिवारीले बताए ।
हालसम्म भरतपुर महानगरपालिकामात्रै ९ हजार ३०३ जना सङ्क्रमित पुगेका छन् । त्यस्तै रत्ननगरमा एक हजार २०१, खैरहनीमा ५३०, राप्तीमा ४६०, कालिकामा ३५०, माडीमा २८७ तथा इच्छाकामनामा ८४ जना सङ्क्रमित पुगेका तिवारीले जानकारी दिए । तिवारीकाअनुसार जिल्लामा सङ्क्रमितमध्ये ६ हजार ९५४ जना पुरुष तथा ५ हजार ३५६ जना महिला रहेका छन् ।






