त्रिशूली, : नुवाकोटमा आज कोरोना सङ्क्रमित तीन जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएर त्रिशूली अस्पतालमा उपचार गराउँदै आएका दुई र होम आइसोलेशनमा रहेका एकजनाको मृत्यु भएको हो ।

अस्पतालको सघन उपचार कक्षमा उपचाररत विदुर नपा–४ की ४३ वर्षीया महिला र अस्पतालको आइसोलेशन वार्डमा उपचाररत किस्पाङ गापा–५ का ३३ वर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमित भएर उपचाररत दुवै जनाको आज बिहान मृत्यु भएको हो । यस्तै शिवपुरी गापा–४ सिक्रेमा कोरोना सङ्क्रमित ६१ वर्षीया एक महिलाको आज बिहान मृत्यु भएको छ ।

आफ्नै घरको होम आइसोलेशनमा बस्दै आएकी ६१ वर्षीया महिलाको श्वासप्रश्वासमा समस्या देखिएसँगै आज बिहान मृत्यु भएको सोही वडाका वडाध्यक्ष झमकराज गुरुङले जानकारी दिनुभयो । नुवाकोटभित्र कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या योसहित आठ पुगेको छ । कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या हाल ७३७ रहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस !