वेटर देखि होटल मालिक सम्म

चितवनः चौध वर्षको कलिलो उमेरमा रित्तो हात कामको खोजीमा नारायणगढ छिरेको युवाले कहिल्यै होटलको मालिक बन्ने सपना सायदै देखेको थिएन । १० वर्ष नारायणागढको एक रेष्टुरेन्टमा काम गर्दै गर्दा उनले रेष्टुरेन्टको मालिक बन्ने सपना देखे र त्यसलाई पछ्याउँदै लगे । रेष्टुरेन्टको मालिक बन्ने सपना पूरा भएपछि उनले अर्काे सपना देखे त्यो हो होटलको मालिक बन्ने । त्यो सपना पनि अहिले पूरा गरेका छन् ।

ठूलो सपना देखेर त्यसलाई पछ्याउँदै गयो भने पूरा गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ कृष्ण भट्टले । बि.सं. २०३७ सालमा गोरखाको घ्याम्पेसालमा जन्मिनु भएका भट्ट बाल्यकालमै नवलपरासीको दलदले परिवारसँगै आउनुभयो । अध्ययनकै क्रममा १४ वर्षको उमेरमा मामा सिताराम पन्तले भट्टलाई रोजगारीका लागि नारायणगढको भेटघाट रेष्टुरेण्टमा ल्याउनुभयो । भट्टले त्यहाँ १० वर्ष वेटर काम गर्नुभयो । यस क्रममा साहुलाई रिझाएर रेष्टुरेन्टका सबै काममा उहाँ दख्खल हुनुभयो ।

भट्टले भन्नुभयो “मैले गोविन्द दाईलाई भनेको थिएँ, विवाह गरेपछि आफै केही गर्छु ।” रोजगारकै क्रममा रकम जोगाएर उहाँले कृष्णपुरमा एउटा घडेरी जोडिसक्नु भएको थियो । उद्देश्य थियो –त्यही बेचेर व्यवसाय गर्ने । जे सोच्नुभयो त्यो भएरै छोड्यो । बि.सं. २०६२ सालको चैतको जनआन्दोलनकै क्रममा भेटघाट नजिकै भट्टले ‘जमघट’ रेष्टुरेन्ट शुरु गर्नुभयो ।

श्रीमान् श्रीमती र दुई जना कर्मचारी राखेर रेष्टुरेन्ट शुरु भयो । भट्टले विगतलाई सम्झँदै भन्नुभयो “कैयौं रात हामी राम्रोसँग सुतेका छैनौं ।” उहाँले अगाडि थप्नुभयो “मूल्य बढ्दै गरेको घडेरी बेचेर थालिएको व्यापार तलमाथि भए कहाँ जाने भन्ने चिन्ता हामी दुवैलाई थियो । त्यै पनि रातदिनको हाम्रो मिहिनेत खेर गएन ।” त्यसो त भेटघाटमा रहँदा सेवाग्राहीसँग सामिप्यताका कारणले कृष्ण खोज्दै सेवाग्राहीका कारण व्यवसाय सफल भएको उहाँ बताउनुभयो ।

सेवाग्राही भेट्नासाथ सत्कारसँगै खिस्स हाँसेर सेवा दिने उहाँको स्वाभावका कारण एक पटक आएका सेवाग्राही फेरी आउने हुँदा उहाँलाई कहिल्यै पछाडि धकेलिन परेन । त्यसको सफलतासँगै उहाँले भरतपुरको बसपार्क चोकमा अर्काे शाखा खोल्नुभयो । बि.सं. २०७२ चैत ३ गते शाखा भरतपुरमा खुल्यो । एक कठ्ठा ३ धुर जग्गा आफैले किनेर शुरु गरेको व्यवसायले निरन्तर सफलता प्राप्त ग¥यो । यसै क्रममा जोडिएको १६ धुर जग्गा थपेर उहाँले २० वटा कोठासहितको होटल शुरु गर्नुभएको छ । जहाँ ८० जना क्षमताको सभाकक्षसँगै रेष्टुरेन्ट पनि छ । ६० जनासम्मलाई बसाईको सुविधा दिन सकिने होटलमा वातानुकूलित कोठाहरु रहेका छन् ।

आधुनिक र अधिकतम सुविधा दिने गरी आफूले होटल शुरु गरेको उहाँ बताउनुहुन्छ । कमाएको रकम थपेर बैंकको सहायताले होटल खोलेको भट्टको भनाई छ । ४० वर्षको उमेरमा दुई वटा रेष्टुरेन्ट र एउटा होटलको मालिक बन्नु भएका भट्टकोमा अहिले २२ जनाले रोजगारी पाएका छन् । भट्टका दुई रेष्टुरेन्ट र होटलमा गरी दैनिक ३०० भन्दा बढीले सेवा पाउने गरेका छन् । भट्ट भन्नुहुन्छ “जे काम गरे पनि निरन्तर मिहिनेत ग¥यो भने सफलता हात पर्छ ।”

आफ्नो कडा परिश्रमकै कारण सफल भएको उहाँको भनाई छ । यतिले मात्रै भट्टलाई चित्त बुझेको छैन । अरु शहरमा पनि जमघटको शाखा विस्तार गर्ने उहाँको योजना छ । देशभरबाट चितवन हुँदै आवत–जावत गर्ने धेरैको रोजाईको खाजा ‘तास’ परिकार उहाँको रेष्टुरेन्टको मुख्य विशेषता हो । यसले मात्रै भट्टलाई चित्त बुझेन । अहिले उहाँले बिहानको खाजादेखि खाना हुँदै रातको आरामदायी बसाईसम्मका लागि सेवा दिंदै आउनु भएको छ ।

उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम भट्ट देशकै नमूना व्यवसायी भएको बताउनुहुन्छ । काम सिकेपछि आफै उद्यमी बन्नुपर्छ भन्ने उदाहरणले भट्टले प्रस्तुत गरेको उहाँको भनाई छ । गौतमले भन्नुभयो “युवा अवस्थामा कुनै पनि ठाउँमा काम सिकेपछि त्यसलाई उद्यममा परिणत गर्नु सफलता हो ।” यसको सिको सबै युवाहरुले गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

नेपालमा रोजगारी पाईदैन भन्दै दिनहुँ विदेश पलायन हुने युवाहरुका लागि भट्ट उदाहरण बन्नु भएको छ । सानो कामबाट शुरु गर्दै सफल व्यवसायी बन्ने विदेश जानु पर्दैन भन्ने शिक्षा उहाँको जीवनबाट पाउन सकिन्छ ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer