पन्छीमा रानीखेत र एच नाईनको प्रकोप

चितवनः कुखुरालगायतका पन्छीमा राानीखेत र एच नाईन रोगको प्रकोप फैलिएको छ । गत मंसिरबाट देशका विभिन्न स्थानमा देखिएको यी रोगको प्रकोप फागुन यता झनै फैलिएको हो । ठूलो संख्यामा व्यवसायिक कुखुरापालनमा क्षति भएको भए पनि एकिन विवरण भने संकलन हुन सकेको छैन ।

व्यवसायिक रुपमा पालेका कुखुरा, स्थानीय जातका कुखुरा, हाँस, टर्की लगायतका पन्छीहरुमा रोगको प्रकोप देखिएको छ । पन्छीरोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा. चेतनाथ खरेलका अनुसार कुखुरामा रानीखेत, एच नाईनसँगै व्याक्टेरियल र माईक्रोटक्सिन जस्ता समस्या देखिएका छन् । प्रयोगशालामा दैनिक २५ देखि ३० वटा नमूना परीक्षणका लागि आउने गरेको उहाँको भनाई छ । जसमध्ये ६० प्रतिशत नमूना चितवनका रहेका छन् ।

उहाँले भन्नुभयो “चैत महिना यता त समस्या झन् बढेर गयो ।” एच नाईन देखिएका खोरमा ५० प्रतिशतसम्म पनि मरेको उहाँको भनाई छ । एच नाईनसँगै अन्य रोग पनि हुन सक्ने खरेल अनुमान गर्नुहुन्छ । उहाँले थप्नुभयो “हामी मुख्य रोगको पछि लाग्छौं, अरु खोज्दैनौं, त्यसैले मुख्य कारण पहिचान हुन सकेको छैन ।”

यो प्रयोगशालामा देशैभरबाट नमूना आउने गर्दछन् । यी रोग देशभर नै समस्याको रुपमा रहेको जनाईएको छ । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा. दयाराम चापागाई रानीखेत विभिन्न प्रकारको हुने भए पनि अहिले कडा खालको देखिएको बताउनुहुन्छ । शुरुमा स्थानीय जात र गिरिराज कुखुराहरुबाट रोग आएको भन्दै उहाँले व्यवसायिक नहुँदा र समय अनुसार खोप नलगाएका कारण रोग फैलिएको जानकारी दिनुभयो ।

पालिकाका पशु शाखा मार्फत् अनुगमन भईरहेको भन्दै उहाँले भन्नुभयो “अण्डा दिईरहेको कुखुरामा एच नाईन र बढ्दै गरेका कुखुरामा रानीखेतको बढी समस्या देखिएको छ ।” रोग नियन्त्रणका लागि जैविक सुरक्षा आवश्यक भएको भन्दै उहाँले खोरमा पूर्ण रुपमा सरसफाई, आवतजावतमा कडाई, नियमित किटनाषक औषधि छर्कन, कुखुरालाई गर्मी भएमा ग्लुकोज र भिटामिन खुवाउन पनि सुझाव दिनुभयो । उहाँले थप्नुभयो “यो भाईरल हो, अरु उपचार छैन ।” सात वटै प्रदेशमा समस्या देखिएको उहाँको भनाई छ ।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले सानो चल्लादेखि प्यारेन्टसम्ममा समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो “२०÷२५ हजार कुखुरा पालेका फर्ममा पूरै मरेका पनि छन् ।” अण्डा र चल्ला लगायतको उत्पादन घटेको भन्दै उहाँले बजारमा कुखुराजन्य पदार्थको अभाव सिर्जना हुन थालेको जानकारी दिनुभयो ।

अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले दैनिक ३२ देखि ३४ लाख अण्डा उत्पादन हुँदै आएकोमा रोगका कारण २५ प्रतिशत उत्पादन घटेको बताउनुभयो । धेरैका खोर खाली भएको भन्दै उहाँले कृषकहरुले निकै ठूलो नोक्सान व्यहोर्नु परेको गुनासो गर्नुभयो ।

पन्छीरोग विशेषज्ञ डा. सुविर सिंह ब्रोईलर कुखुरामा रोग देखिएपछि ९५ प्रतिशतसम्म, लेयर्समा २५ प्रतिशतसम्म, प्यारेन्टमा १५ प्रतिशतसम्म र स्थानीय जातमा शतप्रतिशतसम्म कुखुरा मर्ने गरेको बताउनुहुन्छ । झण्डै चार महिना अघि स्थानीय जात, तीन महिना अघि लेयर्स, दुई महिना अघि, ब्रोईलर र गिरिराज हुँदै गत महिनाबाट प्यारेन्ट माउमा समस्या देखिएको उहाँको भनाई छ । आफूहरुले प्रयोगशालाहरुसँग सहकार्य गरेर रोगको कारणको खोजी गरिरहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक समेत रहनु भएका सिंह बताउनुहुन्छ । रोग कडा भएर आएको, खोपले काम नगरेको जस्ता बहस चलिरहे पनि वैज्ञानिक कारण के हो भन्ने बारे खोजी गर्नुपर्ने देखिएकाले काम अघि बढाईएको सिंहको भनाई छ ।

रानिखेत रोग पारामेक्सो प्रजातिको भाइरसका कारण पन्छीमा रोग लाग्ने सरुवा रोग हो । विज्ञहरूका अनुसार यो रोग संक्रमित दाना, पानी, चराचुरुङ्गी र हावा पानीको माध्यमबाट फैलिने गर्दछ । यसले पन्छीको श्वासप्रश्वास र स्नायु प्रणालीमा असर गर्छ, जसले गर्दा सास फेर्न समस्या हुने र चुच्चो र नाकबाट पानीजस्तो बाक्लो पदार्थ निस्कने भएकाले पन्न्छीमा टाउको झट्काउने, घाँटी तान्ने, फनफनी घुम्ने, खुट्टाको पक्षघात हुने, घाँटी बटार्ने, फुल पार्न कम हुनेलगायत लक्षण देखिन सक्छ ।

एच नाईनको लक्षण पनि रानीखेतसँग मिल्दोजुल्दो हुन्छ । यसले उत्पादन घट्ने र मृत्युदर भने रानीखेतभन्दा कम हुने गर्दछ ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer