चितवनः प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी पठाउनु भएका मूर्तिसहितको शोभायात्रा माडीका लागि प्रस्थान गरेको छ । मंगलबार साँझ देवघाट आईपुगेको सो शोभायात्रा आज बिहान ८ः३० वजे माडीका लागि प्रस्थान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल, गलेश्वर आश्रमका पिठाधिश महामण्डलेश्वर आत्मानन्द गिरि जि महाराज, देवघाट क्षेत्र विकास समितिका पदाधिकारीहरु सहितको उपस्थितिमा स्वति वाचन सहित शोभा यात्रालाई बिदाई गरिएको हो ।

आज विहान देवघाट संगम स्थलको पबित्र जलले जलाभिषेक संगै राम, सिता, हनुमान र लक्ष्मणको मूर्तीलाई देवघाटबाट बिदाइ गरिएको हो । स्थानियले कलश यात्रा सहित शोभायात्रालाई विदाई गरेको देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिनुभयो ।

माडीको अयोध्याधाममा निर्मित मन्दिरमा राख्नका लागि शोभायात्रा सहित प्रधानमन्त्री कार्यालयबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु मंगलबार ल्याईएको हो । यसरी ल्याइएका मूर्तीहरु अयोध्यापुरीको रामधाममा निर्मित मन्दिरमा आज दिनको १२ वजे राख्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा मन्त्री ढकाल, बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल लगाएतका उच्च अधिकारीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

गत असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रकृया शुरू भएको थियो । प्रधानमन्त्री ओलीको निर्देशनमा तीन महिना अगाडि नै बालुवाटारमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिएको थियो । मूर्तिलाई मंगलबार पशुपतिनाथ मन्दिरको परिसरमा रहेको राम मन्दिरमा लगेर स्वस्ति वाचन र मन्त्र उच्चारणसहित पूजा गरेर ल्याईएको हो ।

उक्त शोभायात्रा दासढुंगाको बाटो हुँदै आँपटारी, पुल्चोक, लायन्सचोक, होकिमचोक हुँदै माडी जाने छ । माडीमा पुगेपछि परशुराम कुण्डको जलले जलाभिषेक गरी अयोध्याधाममा मूर्तिहरु स्थापना गरिने छ ।

प्रतिक्रिया दिनुहोस !