काठमाडौं ; कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न कम्तीमा चार साता लकडाउन गर्न विज्ञले सुझाव दिएका छन् ।

उनीहरुले मानवीय क्षति कम गर्न र संक्रमणको चक्रलाई रोक्न लकडाउन अहिले सहि समय भएको बताए । सरकारले किटान गरेका १४ वटा प्रभावित ठाउँमा लकडाउन गर्नु जरुरी रहेको उनको भनाई छ ।

 शुक्रराज अस्पताल तथा सरुवा रोगका निर्देशक डा. सागर राजभण्डारीले अहिल्यै लकडाउन गर्न सकिए संक्रमण फैलावटलाई धेरै हदसम्म रोक्न सकिने बताए ।

लकडाउन गर्नु अगाडि नागरिकका अन्य समस्यालाई सम्बोधन गर्न डा. राजभण्डारीको सुझाव छ । काठमाडौंको परिवारसम्मै भाइरसको नयाँ भेरिएन्ट फैलिएको बताउँदै उनले उपत्यकाका ३ जनामध्ये १ जनामा भाइरस पजेटिभ देखिएको बताए ।

भाइरसको नयाँ प्रकारको कारण युवा र बालबालिका सबैभन्दा बढी प्रभावित बनेको बताउँदै उनले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरे । उनले केही समयका लागि तत्काल विद्यालयसहित भीडभाड हुने थलो बन्द गर्न पनि सुझाव दिए ।

टेकु अस्पतालमा कोभिडबाहेकका रोगको उपचार सेवा बन्द गरिएको जानकारी दिँदै राजभण्डारीले गैर-कोभिड बिरामीलाई अन्य अस्पतालमा रिफर गरिएको जनाए ।

प्रतिक्रिया दिनुहोस !