
चितवनः पश्चिम चितवनको पकौडीमा बस र स्कुटर एक आपसमा ठक्कर खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नक्बर ६ का अन्दाजी ४५ वर्षिय मोहन अधिकारी, उनकी छोरी १७ वर्षिया बिनिसा अधिकारी र उनको दाइकी छोरी १७ वर्षिया दिविसा अधिकारी रहेका छन् ।
कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार जगतपुराबाट भरतपुर तर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको यात्रुवहाक बसले बिपरीत दिशाबाट जाँदै गरेको ना ४० प ७९८२ नम्बरको स्कुटरलाई भरतपुर महानगरपालिका वडा नम्बर २२ पकौडीमा ठक्कर दिएको थियो । ठक्करकाबाट स्कुटर चालक मोहन र स्कुटरको पछाडी सवार दुई जनाको मृत्यु भएको हो ।
उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना आज साँझ ६ः२० वजे भएको हो । उनीहरुको मृत्यु ६ः५५ वजे भएको प्रहरीले जनाएको छ ।