चितवनः खाने परिकार तासको राजधानीको रुपमा परिचित चितवनमा तासकै विभिन्न परिकार लक्षित ‘प्रेसिडेन्ट तास बजार’ सञ्चालनमा आएको छ । नारायण्गढमा सञ्चालनमा ल्याइएको तास बजारको बिकट पहाडी गाउँमा बसोबास गर्ने चेपाङ बालबालिकाले आज उद्घाटन गरेका छन् ।
खानाका स्वादका पारखीहरुलाई लक्षित गर्दै ‘स्वच्छ वातावरण, सरल ठेगाना, स्तरीय सेवा, स्वादिष्ट खाना’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै प्रेसिडेन्ट समुहले एघारौं होटलका रुपमा तास बजार सञ्चालनमा ल्याएको हो ।
विपन्न चेपाङ समुदायका बालबालिकालाई सामुहिक दिवाभोज सहित होटलको उद्घाटन गरिएको हो । गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रीत कक्षा १० मा पढ्ने सिमरन चेपाङ, कक्षा ८ मा पढ्ने हेमकुमार चेपाङ, होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुके एवं ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शंङ्कर भण्डारीले संयुक्त रुपमा रिबन काटेर प्रेसिडेन्ट तास बजारको उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा सिमरन चेपाङले यसअघि आफूहरु रेष्टुरेन्ट गएर कहिल्यै त्यहाँका खानाको स्वाद चाख्न नपाएको भन्दै यहाँ आएर खान पाउँदा खुसी व्यक्त गर्नुभयो । चेपाङ बालबालिकाले किताबमा पढेका कुरा रेष्टुरेन्टमै आएर व्यवहारिक रुपमा खानासँगै हेर्न र सिक्ने अवसर प्रेसिडेन्ट ग्रुपले दिएकोमा खुशि व्यक्त गरेका थिए ।
यहाँ शाकाहारीका लागि लक्षित गर्दै बेबीकर्न तास, मकैको तास, आलुको तास, मिक्स भेज तास, पनिर तास लगायतका परिकार पाईने छ । त्यसैगरी मटन तास, ह्याकुला तास, कलेजो तास, राजखानी तास, चिकेन तास, चिकेन पाङ्ग्रा तास, चिकेन पँखेटा तास, अण्डा तास, मःम तास, माछा तास यहाँको थप आकर्षक परिकार भएको प्रबन्धनिर्देशक भण्डारीले बताउनुभयो ।
करिब रु १ करोड ५० लाखको लगानीमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । कार्यक्रममा होटल व्यवसायी महासंघका उपाध्यक्ष इमान्दु बराल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्ष ज्योति कँडेल, गामबेसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा लगायतले बोल्नुभएको थियो ।

यसैबीच, प्रेसिडेन्ट तास बजारको उद्घाटनका अवसरमा गामबेशीका चेपाङ संरक्षण केन्द्रमा आश्रीत करिब दुई सय जना बालबालिकालाई तीन महिनाका लागि रु एक लाख बराबरको शैक्षिक सामग्री वितरण गरिएको ग्रुपका कार्यकारी निर्देशक कृष्ण भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !