
चितवनः नारायणगढ–मुग्लिङ्ग सडक खण्ड आज देखि एक साता दिउँसो बन्द गरिने भएको छ। सडक निर्माणको क्रममा बाँकी रहेको पहिरो रोकथामको काम गर्न लागि आज देखि २९ गते सम्म दिउँसोको समयमा सडक बन्द गर्न लागिएको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडक खण्ड अन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ । सडक खण्डमा बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द गरेर पहिरो रोकथामको काम गर्न लागिएको आयोजनाका इन्जिनीयर सविना रानाभाटले जानकारी दिनुभयो । उहाँले अत्यावश्यक सेवा बाहेक सबै सवारी साधन रोकिने बताउनुभयो ।
गत वयर्षहरुमा पनि पहिरो रोकथामका कामहरु गर्नुपर्दा सडक वन्द गरिएको थियो । असार पहिलो हप्ता बगाएको चारकिलोको क्षेत्रलाई पहिरो रोकथाम गर्न लागिएको हो । सो क्षेत्रको ८३ प्रतिशत काम यसअघि नै सम्पन्न भएको थियो । कामदार थप गरेर जतिसक्दो छिटो निर्माण सम्पन्न गर्ने गरि तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
त्यस बाहेक नारायणगढ मुग्लिङ्गसडक खण्डको सत्र किलो, पच्चीस किलो र छब्बिस किलोमा पनि पहिरो रोकथाम गर्न गत पुषमा नै ठेक्का सम्झौता भइसकेको छ । सो क्षेत्रको पहिरो रोकथामका लागि बज्रगुरु रायमाझी कन्ट्रक्सनले ठेक्का पाएको हो । बज्रगुरुले २०७८ पुष सम्ममा सक्ने गरि रु १३ करोडमा ठेक्का पाएको हो ।
फागुन २३ देखि २९ गते सम्मको अवधिमा नारायणगढतर्फबाट गएका सवारीसाधनलाई जलबिरेमा र मुग्लिन तर्फबाट आएका सवारीसाधनलाई शान्ति बजारमा रोकिने छ । सो अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ । यस सडक हुँदै दैनिक १० हजार हाराहरी सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।