
चितवनः हात्ती प्रजनन् केन्द्र खोरसोरमा आजबाट हात्ती उपचार शिबिर सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले संयुक्त रुपमा शिबिर सुरु गरेको हो ।
निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार हात्तीलाई जुकाको औषधि खुवाउने, नङ् काट्ने, रगतको नुमना लिएर परिक्षण गर्ने, शरिरको बाहिरी अबस्था निरिक्षण गरेर हेर्ने, घाउ खटिरा एबं चोटपटक भएमा उपचार गरिने छ । यस क्रममा हात्तीलाई भिटामिन, मिनिरलहरु समेत खुवाँइदै छ ।
आउँदो महिनामा हुने गैंडा गणनामा प्रयोग गर्न मिल्ने हात्तीहरु छुट्याउने काम पनि अहिलेनै गरिदैं छ । श्रेष्ठले १५ दिन लगाएर सरकारी ५६ र निजी ६० हात्तीलाई प्रत्यक्ष रुपमा उपचार गरिने बताउनुभयो । उहाँका अनुसार रगतको परिक्षणबाट कुनै रोग देखिएमा तत्काल उपचार प्रकृया अघि वढाइने छ । शिबिरमा निकुञ्ज र कोषका चार जना प्राबिधिक संगै नङ् काट्नका लागि दुई जना कर्मचारी परिचालन गरिएको छ ।
हात्तीको स्याहारमा रहेका कर्मचारीहरु पनि शिबिरमा परिचालन गरिने उहाँले जानकारी दिनुभयो । शिबिरको शुभारम्भका अबसरमा श्रेष्ठ संगै कोषका प्रमुख डा. बाबुराम लामिछाने सहित प्राबिधिक, कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।
प्राकृतिक कारणबाट बैशाख यता चितवन राष्ट्रिय निकुञ्जका पाँच वटा र कोषका एउटा हात्ती मरेपछि स्वास्थ्य प्रति संवेदनशील हुँदै शिविर आयोजना गरिएको हो । निकुञ्जको खोरसोरमा २० वटा, सौराहा कार्यालयमा ८ वटा, कसरामा ६ वटा हात्ती छन् भने पोष्टहरुमा एउटा र दुइवटाका दरले हात्ती रहेका छन् । यस संगै कोष र निजी क्षेत्रका हात्ती आ–आफ्ना हात्तीसारमा रहेका छन् । मरेका हात्तीमा क्षयरोग समेत देखिए पछि केही समय अघि निकुञ्जका सबै हात्तीको रगतको नमुना सङ्कलन गरेर परिक्षणका लागि राखिएको छ ।
निकुञ्ज सुरक्षामा हात्ती प्रयोग हुने गरेको छ । विगतमा पर्यटक घुमाउन प्रयोग गरिने भए पनि पछिल्ला वर्षमा निजी हात्ती मात्र प्रयोग गरिँदै आएको छ ।