चितवनः चितवन राष्ट्रिय निकुञ्जमा आज एक गैंडा मृत फेला परेको छ । नवलपरासीको गैंडाकोट नगरपालिका स्थित गिद्धेनी पोष्ट नजिक मृत गैंडा फेला परेको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार करिब ३० वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको छ । गैंडाको खागखुर भने सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । गैंडा बुढो भएर मरेको अनुमान गरिएको उहाँले बताउनुभयो ।
निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्म २४ वटा गैंडा मरेका छन् । ती मध्ये चार वटा चोरीशिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणबाट मरेका हुन् । पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैंडा रहेका छन् ती मध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ गैंडा छन् । यस वर्ष गैंडाको गणना गर्ने तयारी गरिएको छ ।