
चितवनः कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर कृषि संकायका सहायक डिन विष्णुराज ओझाको निधन भएको छ । उहाँको आज बिहान ३ः४५ वजे चितवन मेडीकल कलेजमा निधन भएको हो ।
ज्वरोका कारण गत पुस ११ गते अस्पतालमा भर्ना हुनु भएका उहाँको उपचारका क्रममा निधन भएको हो । अस्पताल भर्ना भए पछि उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण निको भई सकेपछि ओझाको फोक्सोमा समस्या देखिएको थियो ।
फोक्सोको उपचारका क्रममा उहाँको निधन भएको परिवारले जनाएको छ । वि. सं. २०१९ साल फागुन १८ गते लम्जुङ्को दुराडाडामा जन्मनु भएका ओझाले विंसं. २०४८ सालमा सहायक प्राध्यापकको रुपमा कृषि क्याम्पस पक्लिहवाबाट सेवा प्रारम्भ गर्नु भएको थियो । विं सं. २०६९ सालमा कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनमा समायोजन भई कृषि संकायको २ कार्यकाल सहायक डिनको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
ओझा नेपाल बिद्यार्थी संघ लमजुङको पूर्व सचिव, नेविसंघ रामपुर क्याम्पका पूर्व अध्यक्ष, प्रजातन्त्रवादी प्राध्यापक संघका अग्रज नेता समेत रहनु भएको थियो । उहाँका एक श्रीमती, एक छोरा र एक छोरी रहनु भएको छ । ओझाको अन्तिम संस्कार आज देवघाटमा गरिएको छ । उहाँलाई नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीको झण्डा ओडाउनु भएको थियो ।