चितवनः कोरोना (कोभिड १९) विरुद्धको खोप अभियान जिल्लाका तीन ठाउँबाट शुरु गरिएको छ । भरतपुर अस्पताल, रत्ननगर बकुलहर अस्पताल टाँडी र बघौडा अस्पताल माडीबाट शुरु गरिएको हो ।
भरतपुरमा अस्पतलका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.जगन्नाथ तिवारी, टाँडीमा महिला स्वयंसेविका ईश्वरीदेवी बस्नेतले पहिलो डोज खोप लगाएर शुभारम्भ गरिएको छ । यस्तै माडीमा नगरपालिका स्वास्थ्य संयोजक शिव सुवेदीले पहिलो डोज लगाएर शुभारम्भ गरिएको हो ।
जिल्लामा ४ हजार २ सय जनालाई पुग्ने खोप आएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर अस्पतालमा भरतपुर महानगरपालिका र ईच्छाकामना गाउँपालिकालाई समेटेर खोप दिईने छ । यस्तै रत्ननगर अस्पतालमा पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकालाई समेटेर खोप दिईने छ । माडीमा माडी नगरपालिभित्रकालाई दिईने कार्यक्रम रहेको तिवारीले बताउनुभयो ।
आगामी नौ दिनभित्रमा पहिलो चरणको खोप लगाईसक्ने उहाँले जानकारी दिनुभयो । अभियानको उद्घाटनका क्रममा बागमती प्रदेश सभा सदस्य बिजय सुवेदी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी, भरतपुर अस्पतालका निमित्त प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिमिल्सीना, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी, चिकित्सक युवानिधि वसौला लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले सरकारले खोप ल्याएर पहिलो चरणमा स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रका सरसफाइकर्मीहरुलाई लगाउने निर्णय अनुसार लगाइएको बताउनुभएको छ । अहिलेको खोप तीन चरणको परिक्षण पार गरेर नेपाल आएकाले सुरक्षित भएको जानकारी दिइएको थियो । पहिलो चरणमा कोभिड कहरका समयमा अग्र भागमा रहेका निजी अस्पतलाहरुलाई समेत खोप लगाइने छ ।