
चितवनः भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरको गौरबको आयोजनालाई प्रतिष्ठाको बिषय वनाउन नहुने बताउनुभएको छ । आज यहाँ निर्माणाधिन अबस्थामा रहेको सिटीहल निरिक्षण पछि आयोजीत पत्रकार सम्मेलनमा दाहालले यस्तो वताउनुभएको हो ।
उहाँले भन्नुभयो “महानगरले गौरवको आयोजना अन्तर्गत सिटीहल निर्माणको प्रकृया सुरु गरेको छ । यसलाई कसैले पनि प्रतिष्ठाको बिषय वनाउँनु हुँदैन ।” प्रतिष्ठाको बिषय वनाउने होडवाजी चले आयोजना असफल वनाउने प्रपन्च हो भनेर वुझ्नु पर्ने उहाँको भनाई थियो ।
भरतपुर महानगरपालिका वडा नम्बर १० मा सिटी हल निर्माणको काम तीव्र रुपमा अगाडि बढेको छ । जिल्ला समन्वय समिति चितवन स्वामित्वमा रहेको जग्गा महानगरको नाममा वनाई ४ विगाह ४ कठ्ठा क्षेत्रफलमा सिटी हल निर्माणको काम अगाडि बढेको हो ।
जिल्ला समन्वय समिति चितवनको नाममा रहेको चार बिघा चार कठ्ठा जमिनलाई भरतपुर महानगरपालिकाको स्वामित्वमा ल्याएर सिटी हल निर्माणको काम अगाडि बढाइएको हो । महानगर प्रमुख दाहालले सिटी हल आफ्नै कार्यकालमा उद्घाटन गर्नेगरि निर्माण गर्न ठेकेदार पक्षलाई आग्रह गर्नुभएको छ । निर्माण सामग्री अभाव नहुने भन्दै स्थानीयद्वारा समेत अवरोध हुन नदिने उल्लेख गर्दै दाहालले सिटी हल निर्माण सुरु भएसँगै शिलान्यास भइसकेकाले अब निर्माणपछि उद्घाटन गर्ने बताउनुभयो ।
सिटी हल निर्माण गर्ने र नारायणगढ–गोन्द्राङ सडक विस्तारको काम एउटै कम्पनीले पाउनु खुसीको कुरा भएको दाहालको भनाइ थियो । हानगरपालिकाको तीन वर्षदेखिको अवधारणा आगामी २७ महिनाभित्र पूरा हुने दाहालले बताउनुुभयो ।
सिटी हल निर्माणबारे जानकारी दिँदै सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले यो वहु वर्षीय आयोजना भएकाले रकमको अभाव नहुने बताउनुभयो । दुई हजार जना क्षमताको ठूलो सभा हल तथा तीन सय जना क्षमताको सानो हल सहित अति विशिष्ठ कक्षहरु निर्माण हुने अर्यालले बताउनुभयो । निर्माणधीन सिटी हल २५ मिटर अग्लो हुने भन्दै अर्यालले सिटी हलमा २०र२० क्षमताको दुई वटा लिफ्ट राखिने बताउनुभयो ।
अन्तर्राष्ट्रिय गुणस्तरको निर्माण सामग्री प्रयोग गरेर सिटी हल निर्माण गरिने भन्दै अर्यालले सिटी हल निर्माणका लागि मङ्सिर १८ गते सम्झौता भएको बताउनुभयो । आगामी २७ महिनाभित्र निर्माण सक्नुपर्ने गरि ८७ करोड ८८ लाख रुपैयाँमा निर्माण सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।
सिटी निर्माण स्थल अवलोकनका क्रममा निर्माण कम्पनी इन्डो सगुन रौताहा जेभीका प्रमुख सहदेव खड्काले सिटी हलको मुख्य भवन निर्माणको काम तीव्र रुपमा अगाडि बढाइएको बताउनुभयो । जगमा सोलिङ गरेर पिसीसी को अगाडि बढेको भन्दै आर्थिक तथा स्थानीय रुपमा कुनै समस्या नपरेमा सम्झौता मिति अगाडिनै निर्माण सम्पन्न गर्ने खड्काले बताउनुभयो । सिटी हल निर्माणमा प्रयाग हुने सामग्री गुणस्तरीय राख्नका लागि निर्माणस्थलमा नै रेडिमिक्स प्लान्ट राखेर काम गरिने उहाँको भनाइ छ ।