चितवनः जिल्लाका अस्पतालहरुमा उपचार गर्न आएकाहरु मध्ये २४३ जनामा डेंगु र २८६ जनामा स्क्रब टाईफस संक्रमण पुष्टि भएको छ । साउन यता विभिन्न अस्पतालहरुमा उपचार गर्न आएका उनीहरुमा संक्रमण देखा परेको हो ।

डेंगु संक्रमित मध्ये चितवनका मात्रै १४९ जना हुन् भने बाहिरी जिल्लाबाट आएका ९४ जना छन् । डेंगुका सबै बिरामीहरुको अवस्था सामान्य देखिएको स्वास्थ्य कार्यालय चितवनले बताएको छ । चितवनमा डेंगुको संक्रमण दर गत वर्षभन्दा यसवर्ष कम रहेको छ । गत आर्थिक वर्षमा ४ हजार ८०३ जनामा डेंगु संक्रमण देखिएको थियो । जसमध्ये तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले यसवर्ष डेंगु र स्क्रब टाइफस दुवैको जोखिम नरहेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष रोकथामको काम प्रभावकारी भएकाले यसवर्ष कम सङ्क्रमित भेटिएको हो । लकडाउनको समयमा ४÷५ महिना मानिसहरु घरभित्रै बसेकाले पनि यसको संक्रमण दर बढ्न नपाएको उहाँले जानकारी दिनुभयो ।

डेंगुले हरेक तीनतीन वर्षमा महामारीको रुप लिने गर्छ । चितवनमा गत वर्ष नै डेंगुले महामारीको रुप लिएकाले यसवर्ष संक्रमण दर कम भएको उहाँको भनाई छ । डेंगु नियन्त्रणका लागि स्थानीय तहहरुले पनि सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।

यसैगरी हालसम्म जिल्लाका अस्पतालहरुमा आएका बिरामी मध्ये २८६ जनामा स्क्रब टाइफस संक्रमण भेटिएको छ । तीमध्ये चितवनका मात्रै १४९ जना हुन् भने जिल्लाबाहिरका १३७ जना छन् । स्क्रब टाइफसको पनि त्यति जोखिम नरहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले बताउनुभयो । गत आर्थिक वर्षमा १२७ जनामा संक्रमण देखिएको थियो भने दुई जनाको मृत्यु भएको थियो । यस वर्ष एक जनाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी गिताञ्जली ढकालले जानकारी दिनुभयो ।

मुसाको शरीरमा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस रोग लाग्ने गर्छ । खेतबारीमा एवम् विशेषगरी घरबाहिर काम गर्ने व्यक्तिमा यो रोग लाग्ने उहाँले जानकारी दिनुभयो । यो रोग गर्मी र वर्षाको समयमा देखिन्छ । किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ । यसमा उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जन्डिस हुने र पेट दुख्ने लक्षण देखिन्छ ।

प्रतिक्रिया दिनुहोस !