चितवनः चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन् केन्द्रमा हुर्काईएका गोही नदीमा छाडिएको छ । हरेक वर्ष यो बेला नदीहरुमा गोही छोड्ने गरिन्छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सोमबार १० वटा गोही राप्ती नदीमा छोडिएको हो ।
निकुञ्जको मुख्य कार्यालय कसरा नजिक नदीमा ती गोही छोडिएको हो । यस आर्थिक वर्षमा एक सय वटा गोही नदीमा छोड्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । ती सबै गोही राप्तीमा छोडिदै छ । गत वर्ष ५० वटा गोही नदीमा छाडिएको थियो ।
राप्ती र नारायणी नदीमा गोहीले पारेका अण्डा संकलन गरेर प्रजनन् केन्द्रमा लग्ने गरिन्छ । ती अण्डा र प्रजनन् केन्द्रका गोहीले पारेका अण्डा कोरलेर बच्चा हुर्काउने गरिन्छ । पाँच वर्षपछि ती बच्चा नदीमा छोडिदै आएको छ । हाल छोडिएका गोही ६ वर्ष उमेरका हुन् ।
सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । प्रजनन् केन्द्रमा हुर्किएका यो सहित १ हजार ५ सय २५ गोही विभिन्न नदीमा छोडिएका छन् । जसमध्ये सबैभन्दा बढी ८४५ गोही राप्तीमा छाडिसकिएको छ । नारायणीमा ३९९, कालिगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० गोही छाडिसकिएको छ ।
पछिल्लो गणना अनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले यहाँ हुर्काएर नदीमा छोडिएका गोही भारततर्फ जाने गरेका कारण नेपालका नदीहरुमा संख्या बढ्न सकेको छैन । त्रिवेणीमा रहेको गण्डक ब्यारेजबाट भारततर्फ गएका गोही फर्किएर आउन कठिन हुने हुँदा पनि समस्या हुने गरेको छ ।
संकटापन्न अवस्थामा रहेको घडियाल गोही मानव अतिक्रमणका कारण पनि समस्यामा परेको छ । माछा मार्न प्रयोग हुने तियारी जालमा बेरिएर वर्षेनी गोही मर्ने गरेका छन् । नदी प्रदुषित हुँदा गोहीलाई आहाराको अभाव र फोहोर पानीका कारण यसको संख्या बृद्धिमा बाधा पर्ने गरेको उहाँको भनाई छ । नदी छेउका शहर र उद्योगबाट उत्पादित फोहोर नदीमा मिसिदा नदीमा जलिय पारिस्थितिकीय प्रणाली (वाटर ईकोस्टिम) बिग्रिदा गोही बचाउन कठिन भएको बरालले गुनासो गर्नुभयो ।
मनोमानी ढंगले नदी खोलाबाट ढुंगा, गिटी बालुवा उत्खनन् गर्नाले गोहीको बासस्थानमा खलल ल्याएको उहाँको भनाई छ ।