चितवनः भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा गौतमवुद्ध कप २०२० क्रिकेट प्रतियोगिता हुनेभएको छ । बागमती प्रदेश क्रिकेट संघको आयोजना तथा चितवन क्रिकेट संघको संयोजनमा मंसिर २७ गतेबाट प्रतियोगिता शुरु गर्न लागिएको हो । प्रतियोगिताका खेलहरु निर्माणाधिन रंगशालाको नमुना मैदानमा हुनेछन् ।

प्रतियोगितामा सहभागीता जनाउने ३ टोली घोषणा भएको छ । आयोजक बागमती प्रदेश क्रिकेट संघले प्रतियोगितामा सहभागीता जनाउने ३ वटा टोलीको नाम सार्वजनिक गरेको हो । प्रतियोगितामा टिम बागमती, टिम नारायणी र टिम राप्तीले सहभागीता जनाउने संघका कोषाध्यक्ष अनिल अधिकारीले जानकारी दिनुभयो ।

बागमतीको कप्तानमा राष्ट्रिय टोलीको समेत कप्तान रहेका ज्ञानेन्द्र मल्ल रहनु भएको छ । यस्तै नारायणीको कप्तान पूर्व राष्ट्रिय कप्तान पारस खड्का र राप्तीको कप्तानमा बिनोद भण्डारी रहनु भएको छ ।

प्रतियोगिताको पहिलो खेलमा मंसिर २७ गते ज्ञानेन्द्र मल्लको बागमती र पारस खड्काको नारायणी भिड्नेछन् । दोस्रो खेलमा मंसिर २८ गते बागमती र बिनोद भण्डारीको राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्नेछन् । शिर्ष २ मा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मंसिर ३० गते हुने अधिकारीले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणका कारण दर्शक दिर्घा भने खाली हुने भएको छ । अधिकारीले भन्नुभयो “खेलको राष्ट्रिय स्तरको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने छ । दर्शक दिर्घा खाली हुने छ ।”

प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले प्राविधिक सहयोग गर्नेछ भने बागमती प्रदेश खेलकुद बिकास समिति र भरतपुर माहानगरपालिकाको आर्थिक सहयोग गर्नेछ । कोरोना भाइरस (कोभिड १९) का कारण ठप्प रहेको क्रिकेट गतिविधिलाई पुनः चलायमान गर्दै रंगशालाको प्रचारका लागि प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !