फूलबारीमा प्रहरी कार्यालय स्थापना

चितवन : भरतपुर महानगरपालिका १५ फूलबारीमा ईलाका प्रहरी कार्यालय स्थापना भएको छ । फूलबारीस्थित पुरानो स्वास्थ्य चौकीको भवनमा आज (बिहीबार) प्रहरी कार्यालय स्थापना गरिएको हो ।

चितवनका प्रमुख जिल्ल्ला अधिकारी नारायण प्रसाद भट्टराईको अध्यक्षतामा आयोजित एक कार्यक्रमकाबीच कार्यालय स्थापना गरिएको हो । नवस्थापित कार्यालयमा प्रहरी निरीक्षक देवराज शर्माको कमाण्डमा आजैदेखि सेवा प्रारम्भ भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिए । कार्यालयमा ४५ जनाको दरबन्दी भए पनि तत्कालका लागि १३ जनाले सेवा दिने डिएसपी थापाले बताए ।

कार्यक्रममा गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी(पथिक), भरतपुर महानगरपालिका उप-प्रमुख पार्वती शाह ठकुरी, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा, जिल्लाका सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका स्थानीय जनप्रतिनिध, स्थानीय समाजसेवीलगायतको सहभागिता रहेको थियो।