हेटौडाः मकवानपुरमा कार्यरत प्रहरीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएको छ । एकै दिन थप ४७ जना प्रहरीमा संक्रमण देखिएको हो ।

जसमध्ये दुई जना प्रहरी निरिक्षक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपरले जानकारी दिएको छ । हेटौँडा–११ थानाभर्‍याङस्थित दंगा प्रहरी गणमा कार्यरत ३५ जना, जिल्ला प्रहरी कार्यालयमा कार्यरत १२ जना प्रहरीमा संक्रमण देखिएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिनुभयो ।

मकवानपुरमा शुक्रबार एकै दिन ९५ जनामा संक्रमण देखिएको थियो । जिल्लामा यति ठूलो संख्यामा संक्रमित फेला परेको पहिलो पटक हो । मकवानपुरमा कोरोना संक्रमित जनपथ प्रहरीको संख्या १ सय १५ जना पुगेको छ । हालसम्म १० जना सशस्त्र प्रहरीलाई कोरोना देखिएको जनाइएको छ ।

अत्यावश्यक कामले घर गएर फर्किएका, तालिम पश्चात काममा आएका र थुनुवाबाट कोरोना संक्रमण फैलिएको राठोरले बताउनुभयो । जिल्लामा कार्यरत प्रहरीमा दैनिक संक्रमण देखिएपनि शान्ति सुरक्षामा कुनै कमी आउन नदिएको एसपी राठौरले बताउनु ।

हालसम्म ३३ जना प्रहरीले कोरोना जितेका छन् । उनीहरू नियमित ड्युटीमा खटिएको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । बाँकी संक्रमित प्रहरी होम आइसोलेसनमा र हेटौँडा–६ गौरिटारस्थित रंगशालामा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस !