पोखरा: पोखरामा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
यही २४ भदौमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका– १ का ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।
सो अस्पतालमा हालसम्म उपचारका क्रममा १० जना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।
प्रदेशमा दुई हजार ८ सय २० सङ्क्रमित भएकामा एक हजार ८ सय ४९ जना निको भएका छन् ।