चितवनः जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पताल सहीत दुई निजी मेडिक कलेजमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार गर्नका लागि सरकारी संगै निजी अस्पताललाई पनि तोकेको छ ।
मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमका अनुसार चितवनको भरतपुर अस्पताल र दुई निजी मेडिकल कलेजलाई कोरोना उपचारका जिम्मेवारी तोकिएको छ । उहाँले भन्नुभयो “तोकिएका अस्पतालहरुमा गरिएको कोरोना सङ्क्रमितको उपचार खर्च सरकारले वेहोर्छ ।”
सामान्य लक्ष्यण देखिएका र लक्ष्यण नदेखिएका सङ्क्रमितको एक दिनको प्रति व्यक्ति रु ३ हजार ५ सय, पूर्ण लक्ष्यण देखिएका बिरामीको रु ७ हजार र सघन उपचार कक्षमा उपचार गर्नुपर्नेको रु १५ हजार सरकारले सम्बन्धित अस्पताललाई दिने उहाँले जानकारी दिनुभयो ।
चितवन मेडिकल कलेजका अध्यक्ष एबं प्रबन्धनिर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले सरकारले सङ्क्रमितको उपचार खर्च व्यहोर्ने भएपछि सम्वन्धित विरामी र परिवारले कुनै रकम तिर्नु नपर्ने जानकारी दिनुभयो । न्यौपानेले सङ्क्रमित हुनुभन्दा अघिको उपचार खर्च भने सम्वन्धित व्यक्तिले तिर्नु पर्ने बताउनुभयो । आज चितवन मेडिकल कलेजमा कोरोना सङ्क्रमित १ सय ३ जना उपचाररत छन् ।

पुरानो मेडिकल कलेजका निर्देशक डा. मनोहर प्रधानले मन्त्रालयले खर्च वेहोर्ने जानकारी पाए संगै बिरामीका आफन्त संग कुनै पनि रकम नलिएको बताउनुभयो । मन्त्रालयले पत्र पठाई नसकेको भए पनि प्रमुख जिल्ला अधिकारीले यस विषयमा जानकारी गराए पछि आँफुहरुले सङ्क्रमितको उपचार निःशुल्क गरेको उहाँको भनाई छ ।

सो मेडिकल कलेजमा आज ५३ जना सङ्क्रमित उपचाररत छन् । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले गत महिना सम्म सरकारी अस्पतालले मात्र उपचार गरिरहेकामा अहिले निजी मेडिकल कलेजहरुलाई पनि उपचारको जिम्मा दिईएको वताउनुभयो । भरतपुर अस्पतालमा अहिले ६४ जना सङ्क्रमित उपचाररत छन् । सुरु देखिनै सरकारी अस्पतालले सङ्क्रमितको उपचार निःशुल्क गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले सरकारले अस्पतालहरुलाई सङ्क्रमितको उपचार खर्च दिने भएकाले निःशुल्क उपचार गर्नुपर्ने बताउनुभयो । जिल्लाको कोरोना नियन्त्रणका लागि वनेको प्राबिधिक समितिका संयोजक समेत रहनु भएका अधिकारीले सङ्कटको समय भएकाले सरकारको निर्देशन पूर्ण पालना गरेर सबै उपचारमा जुट्नु पर्नेमा जोड दिनुभयो । यसै महिनाबाट मेडिकल कलेजहरुले कोरोनाका बिरामीको उपचार थालेको हुन ।

जिल्लाको भरतपुर सरकारी अस्पताल र दुई मेडिकल कलेजमा भेन्टिलेटर सहितको कोभिड सघन उपचार कक्ष र आइसोलेसन कक्ष सञ्चालनमा रहेका छन् । यी अस्पतालले चितवन सहित छिमेकि जिल्लाका कोभिडको बिरामीको उपचार गर्दै आएका छन् । जिल्लामा सङ्क्रमितको संख्या एक हजार नाघेको छ । अस्पतालहरुमा उपचारको क्रममा २१ ज्नाको मृत्यु भई सकेको छ । जस मध्ये ११ जना चितवनका हुन । घरमानै एक वृद्धाको सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !