चितवनः वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको प्रयोगशालालाई व्यवस्थित गरि आजबाट कोरोना परिक्षण थालिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देवकुमार गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले संञ्चालनको अनुमती दिए संगै आजबाट प्रयोगशाला सञ्चालनमा ल्याईएको हो ।

आईतबार स्वाब सङ्कलन गरिएका १ सय १७ वटा नमुना परिक्षणका लागि राखिएको छ । ती नमुनाको नतिजा आजै आउने उहाँले जानकारी दिनुभयो । अस्पतालले पिसीआर परिक्षण शुल्क रु ३ हजार ५ सय तय गरेको छ । एक दिनमा ४ सय वटा सम्म नमुनाको परिक्षण गर्न सकिने उहाँकोे भनाई छ ।

सो अस्पतालमा देशभर र भारतबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । पिसीआर परिक्षण गरेर मात्र अस्पतालले उपचार थाल्ने गरेको छ । प्रयोगशाला सञ्चालनमा आए संगै उपचारमा सहज हुने गौतमको भनाई छ । सङ्क्रमणका कारण आईतबार सम्म अस्पतालका ४६ जना चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भई सकेका छन् ।

समयमा पिसीआर परिक्षणको नतिजा नआउँदा सङ्क्रमित हुने चिकित्सक, स्वास्थ्यकर्मी र बिरामी वढ्दै गए पछि अस्पतालले आफ्नै प्रयोगशालालाई व्यवस्थित गरेर सञ्चालनमा ल्याएको हो । सो वाहेक जिल्लामा सरकारी तर्फ भरतपुर अस्पतालले र निजी तर्फ चितवन मेडिकल कलेजले प्रयोगशाला सञ्चालन गर्दै आएका छन् ।

सरकारी प्रयोगशालामा नमुनाको चाप उच्च भएकाले नतिजा आउन एक साता सम्म कुर्नुपर्ने बाध्यता रहेको छ । क्यान्सर अस्पतालले वीपी जयन्तीको अबसरमा भदौ २४ गते प्रयोगशालाको बिधिबत उद्घाटन गर्ने जनाएको छ ।
जिल्लामा हाल सम्म सङ्क्रमितको संख्या १ हजार ३८ पुगेको छ । सङ्क्रमणकै कारण यहाँका अस्पतालहरुमा २२ जनाको मृत्यु भईसकेको छ । जस मध्ये १२ जना चितवनका हुन ।

प्रतिक्रिया दिनुहोस !