कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत कार्यालय सहयोगी परिवारका ४ जना सदस्यमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।
नगरपालिका– ११ का स्थायी बासिन्दा रहेका कार्यालय सहयोगीसहित उनकी श्रीमती, बज्यै र ठूली आमामा कोरोनाको सङ्क्रमण देखिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार ४ जनासँगै पीसीआर परीक्षणका लागि स्वाब लिइएकामध्ये छोरीको स्वाबको नतिजा भने नेगेटिभ आएको छ ।
कैलालीको धनगढीमा रहेको सिपी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका २२ वर्षीया श्रीमतीमा कोरोनाको सङ्क्रमण देखिएको थियो । भेट्न जाने क्रममा परिवारका अन्य व्यक्तिलाई समेत कोरोनाको सङ्क्रमण भएको अनुमान गरिएको छ ।
श्रीमतीमा कोरोनाको सङ्क्रमण भएको पाइएपछि सम्पर्कमा आएका परिवारका सदस्यको कन्ट्रयाक्ट ट्रेसिङको कार्य गर्दा परिवारका ३ जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको हो । परिवारका अन्य सदस्यमा कोरोनाको सङ्क्रमण भएको पाइएको छैन ।
कोरोनाको सङ्क्रमणको आशङ्का भएपछि पीसीआर परीक्षणका लागि स्वाब दिएको ४ दिनदेखि नै क्वारेन्टाइनमा बस्दै आएको कार्यालय सहयोगीले बताए । रासस