काठमाडौः कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । विराटनगरमा दुई जना र जनपुरमा एक जना गरी ३ जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमणबाटै मोरङको विराटनगरस्थित कोशी अस्पतालअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुष र मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेजमा उपचाररत बुढीगंगा गाउँपालिका– ४ का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

७६ वर्षीय ती वृद्धमा ११ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका उनी स्वास्थ्य अवस्था असहज बनेपछि शनिबार अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिनुभयो । उनका अनुसार मृतकमा उच्च रक्तचापको समस्या थियो ।

त्यस्तै ५२ वर्षीय मृतक पुरुष १९ भदौमा अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनको आइतबार मृत्यु भएको विराट मेडिकल कलेजका कोभिड फोकल पर्सन डा.पुरु कोइरालाले जानकारी दिनुभयो । मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएका उनमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ । मृतक पुरुषमा निमोनियाको पनि समस्या देखिएको थियो । योसँगै विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । प्रदेशमा ४३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

जनकपुरमा एक जनाको मृत्यु

यसैबीच, प्रादेशिक अस्पताल जनकपुरमा सिरहाको मिर्चैया नगरपालिका–५ का ६२ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । मधुमेह र उच्च रक्तचापको समस्याबाट पीडित उनलाई लगातार पाँच दिनदेखि ज्वरो आएपछि फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लगिएको थियो । त्यहाँ उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा शनिबार राति उनको रिपोर्ट पोजेटिभ आएको थियो । लगत्तै उनलाई आइतबार बिहान प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । उपचारकै क्रममा आइतबार राति मृत्यु भएको डा. जामुन सिंहले बताउनुभयो । मृतक पुरुष मिर्चैयामा ग्यास पसल सञ्जालक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !