धरानः कोरोना भाईरसको संक्रमण वढ्दै जाँदा आम जनसमुदाय आतङ्कीत वन्दै गएको छ । संक्रमण लागे पछि निको हुन लामो समय लाग्ने र दिर्घ रोगीहरुको मृत्यु हुने क्रम पनि जारी छ ।
यसै क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० वर्षीया कोरोना भाइरस संक्रमित महिलाले स्वस्थ्य शिशुलाई जन्म दिएकी छन् । मोरङको विराटनगर–३ की ती महिलाले बीपीको कोभिड–१९ अस्पतालमा सोमबार शिशुलाई जन्म दिएकी हुन् ।
आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । “नवजात शिशुको र आमा दुवैको स्वास्थ्य अवस्था राम्रो छ” उहाँले भन्नुभयो ।
यही ३ भदौमा ती महिला अस्पतालमा भर्ना भएकी थिइन् । प्रसूति विभागका डा. सूर्यप्रसाद रिमाल नेतृत्वको चिकित्सक र नर्सको टोलीको सहयोगमा कोरोना संक्रमित गर्भवतीको नर्मल डेलिभरी भएको हो ।