धरानः स्वास्थ्य सामग्रीबिना ड्युटीमा खटिन बाध्य पारेको भन्दै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्स आजदेखि आन्दोलित भएका छन् । प्रतिष्ठानमा भर्ना भएका बिरामीको उपचारमा खटिँदा स्वास्थ्य प्रोटोकलअनुसारका स्वास्थ्य सामग्री उपलब्ध नगराएको र नर्सहरूको सुरक्षामा चासो नदेखाइएको भन्दै उनीहरू आन्दोलित बनेका हुन् ।

बिरामीको उपचारमा खटिएका नर्सहरूलाई प्रतिष्ठान व्यवस्थापन पक्षले पीपीई, पन्जा र मास्कसमेत नदिएको गुनासो छ । सोमबार मात्रै प्रतिष्ठानको आईसीयूमा उपचाररत ८ जना बिरामीमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । कोरोना पोजिटिभ देखिएका बिरामीको उपचारमा संलग्न नर्सलाई क्वारेन्टाइनमा नपठाई ड्युटीमै खटाएपछि उनीहरू आन्दोलित भएका हुन् ।

संक्रमितको सम्पर्कमा रहेकाहरूको पीसीआर चेक गरी तत्काल क्वारेन्टाइन पठाउनुपर्नेमा प्रतिष्ठानले ड्युटीमा नै खटाएको छ । जसले गर्दा अन्य बिरामी र आफूलाई पनि जोखिम बढेको नर्सहरूको भनाइ छ । प्रतिष्ठानमा हालसम्म दर्जनभन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भइसकेको छ ।

आईसीयूमा उपचाररत अन्य बिरामीका आफन्तहरूले पनि स्टाफ नर्सहरूको आन्दोलनलाई समर्थन जनाउँदै धर्नामा बसेका छन् । उनीहरूले पनि आईसीयूमा पीसीआर रिपोर्ट नआई संक्रमितहरूलाई राखेर अन्य बिरामीहरूलाई संक्रमणको जोखिममा पारेको बताएका छन् ।

प्रतिष्ठानले मास्क नदिएका कारण आफूहरूले नै नर्सहरूलाई मास्क दिनुपरेको बिरामी कुरुवा जशोदा लिम्बूले बताउनुभयो । नर्सहरूलाई बिरामीका कुरुवाहरूले नै मास्क र पञ्जा किनेर दिनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

बिरामीको उपचारमा संलग्न डाक्टरलाई क्वारेन्टाइनको व्यवस्था गरे पनि नर्सलाई भने क्वारेन्टाइनको व्यवस्था नगरी विभेद गरिएको आन्दोलित नर्सहरूले बताएका छन् । प्रतिष्ठानका निर्देशक डा. गौरीशंकर साहले आर्थिक संकटका कारण नर्सहरूलाई भनेअनुसारको स्वास्थ्य सामग्री उपलब्ध गराउन नसकिएको स्वीकार गनुभयो ।

प्रतिक्रिया दिनुहोस !