चितवनः भरतपुर महानगरपालिकाका १२ जना सहित चितवनका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबारी राती अवेर आएको नतिजामा चितवनका २० जनासहित थप ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । ५ सय जनाको परिक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएको हो ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाका १२ जना, राप्ती नगरपालिकाका २ जना, खैरहनीका ५ जना र रत्ननगरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो ।

यस्तै नवलपुरका ५, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

भरतपुर अस्पताल, मौलाकालिका अस्पताल र नारायणी सामुदायिक हस्पिटलबाट गरिएको स्वाब संकलनबाट भरतपुरका ५ पुरुष र ७ महिलागरि १२ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु भरतपुर–१, २, ३, ४, ७, १० र ११ का बासिन्दा हुन् । संक्रमित पुरुषहरु १९ देखि ६५ वर्ष उमेर समूहका छन् भने महिलाहरु ९ वर्षीया बालिकादेखि ४४ वर्ष उमेर समूहका छन् ।

यस्तै खैरहनी नगरपालिका–३ का पाँच जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये एक जना मंगलबार विहान निधन भएकी १०८ वर्षीया वद्धा हुन् । अन्य चार जना संक्रमित ती वृद्धाको हेरचाहमा खटिएका महिला हुन । उनीहरु होम क्वारेन्टिनमा रहेका थिए ।

त्यस्तै राप्ती नगरपालिका–४ र ५ का २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल र नारायणी सामुदायिक हस्पिटलबाट गरिएको स्वाब संकलनमा १९ र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै रत्ननगर नगरपालिका–१० का २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ती पुरुषको चितवन मेडिकल कलेजबाट स्वाब संकलन गरिएको थियो ।

यसैगरि भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट गरिएको स्वाब संकलनमा पूर्वी नवलपरासी (नवलपुर)का ३ पुरुष र दुई महिनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट गरिएको स्वाब संकलनमा महोत्तरीका ४४ वर्षीय पुरुष, बाग्गेश्वरी डाइग्नोस्टिक ल्याबबाट गरिएको स्वाब संकलनमा बाँकेकी ३३ वर्षीया महिला, चितवन मेडिकल कलेजबाट गरिएको स्वाब संकलनमा तनहुँका २९ वर्षीय पुरुष, मकवानपुर हेटौंडा–१९ की ६६ वर्षीया महिला र बाराका ७७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !